पदमपोखरी गाई काण्डका आरोपीहरु धरौटीमा रिहा

मंगलबार, १३ चैत्र २०७४, १९ : ५५
पदमपोखरी गाई काण्डका आरोपीहरु धरौटीमा रिहा

चन्द्र घलान
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा गाई काटेको अभियोगमा पक्राउ परेका ३ प्रतिवादीहरु जिल्ला अदालत मकवानपुरले माग गरेको धरौटी रकम बुझाएर तारेखमा रिहा भएका छन् ।
जिल्ला न्यायाधिस खडानन्द तिवारीको ईजलासले मुद्धामाथि सुनुवाई गर्दै प्रतिवादीद्वय मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई जनही रु. १ लाख ८ हजारका दरले र कान्छीमाया ब्लोनलाई जनही रु. ५४ हजार धरौटीको माग गर्ने आदेश दिएको थियो । अदालतको आदेश बमोजिम प्रतिवादीहरुले धरौटी रकम जम्मा गरेपछि मुद्धाको अन्तिम किनारा नलागेसम्म प्रतिवादीहरुलाई तारेखमा रिहा गरिएको हो ।
निर्दोष सोझा तामाङहरुलाई मासु खाएकै भरमा जेल पठाउन नहुने भन्दै सामाजिक सञ्जालमा समेत ठूलो बहस चलेको थियो । केहीले जातियताको कुरा उठाएर केसलाई बङ्ग्याउने दुश्प्रयास पनि गरेका थिए ।
वि.सं. २०७४ कात्तिक २७ गते बेलुका गाई काटेको अभियोग लागेका हेटौँडा १२ पदमपोखरी रमन्टार बस्ने गाई धनी ५५ वर्षीया कान्छीमाया ब्लोनलाई घटना भएको करिब ५ महिनापछि गएको फागुन १५ गते मंगलबार प्रहरीले पक्राउ गरेको थियो । गाई काटेर खाएको अभियोगमा कान्छीमाया ब्लोनसहित मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस