गौतमचोकमा चेली ब्युटी एण्ड हेण्डसम सैलुन

मंगलबार, १३ चैत्र २०७४, १३ : २१
गौतमचोकमा चेली ब्युटी एण्ड हेण्डसम सैलुन

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर सात गौतमचोकमा मंगलबारदेखि चेली ब्युटी एण्ड हेण्डसम सैलुन तथा टे«निङ सेण्टर सञ्चालनमा आएको छ । बेचबिखन र लैगिक हिंसा प्रभावित तथा सम्भावित चेलीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले चेली नेपालले सैलुन सञ्चालनमा ल्याएको हो ।
सैलुनको मंगलबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका वडा नम्बर सातका अध्यक्ष राजेन्द्र काफ्ले र महिला सदस्य सरिता पाठकले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा सहभागी हुँदै वडा अध्यक्ष काफ्लेले संस्थाले सुरुवात गरेको आयमुलक र आत्मनिर्भर अभियानमा स्थानीय निकायले सहयोग र संरक्षण गर्ने बताउनु भयो ।
चेली नेपालका कार्यक्रम निर्देशक सुरेन्द्र चापगाईले सीपलाई ब्यावसायिक रुपमा उपयोग गर्न सके महिलाहरुको जीविकोपार्जनमा कुनै समस्या नहुने बताउनु भयो । परम्परागत व्यवसायले मात्र महिलाहरुलाई प्रतिस्पर्धात्मक बजारमा व्यवसायीका रुपमा स्थापित गर्न समस्या हुने उहाँले वताउनुभयो ।
चेलीहरुलाई आत्मनिर्भर बनाउने अभियान अन्तर्गत सुरु गरिएको यस तालिम केन्द्रबाट एक वर्षमा पाँच स्थानमा यस्तै किसिमको व्यवसाय संचालन गर्ने लक्ष्य संस्थाले लिएको छ । तालिम केन्द्रमा सिटिईभिटीबाट मान्यताप्राप्त प्रशिक्षकले तालिम दिने भएकाले व्यावहारिक रुपमा सीप सिकाई हुने विश्वास गरिएको छ ।
उद्घाटन कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष केशव कार्की, स्थानीय महिला समूहका प्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस