सरकारविरुद्ध लागेका केही व्यक्तिहरुका कारण प्रदेश सरकार अस्थिर बन्यो:  मुख्यमन्त्री पौडेल

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, १२ : ३०
सरकारविरुद्ध लागेका केही व्यक्तिहरुका कारण प्रदेश सरकार अस्थिर बन्यो:  मुख्यमन्त्री पौडेल

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारविरुद्ध लागेका केही व्यक्तिहरुका कारण प्रदेश सरकार अस्थिर बनेको बताएका छन् । उनले विभिन्न समस्यासँग जुध्दै संघीयता कार्यान्वयनमा लागिपरेको प्रदेश सरकारलाई असफल बनाउन केही व्यक्तिले सरकार विरोधी गतिविधि चलाएको आरोप लगाए ।

मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यसम्पादन समीक्षा एवम् आगामी रणनीति निर्धारण कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले कानुन अभावका कारण प्रदेश सरकारले पर्याप्त काम गर्न नसकेको गुनासो समेत गरे ।

उनले प्रहरी समायोजनको काम पूरा नभएकाले प्रहरी संगठनका समस्या तथा आवश्यकताहरुलाई पूरा गर्न प्रदेश सरकारले पर्याप्त काम गर्न नसकेको धारणा राखे । संघीय सरकारसँग अनुमति लिनुपर्ने झन्झटका बावजुद पनि प्रदेश सरकारले प्रदेशका प्रहरीलाई सुविधा सम्पन्न र सेवालाई उत्कृष्ट बनाउन थुप्रै काम गरेको उनले बताए ।

प्रदेश सरकारको सहयोगमा गत आर्थिक वर्षमा प्रहरी मुख्यालयसहित ४६ वटा भवन निर्माण कार्य गरेको र चालू आर्थिक वर्षमा २१ वटा भवन निर्माणको काम जारी रहेको उनले बताए ।

उनले प्रहरीको संगठन र संरचनाको विकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै प्रहरी समायोजन भए लगत्तै दरबन्दीको समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी बसन्त कुमार लामाले गत असारमा सम्पन्न गरेको कार्यसम्पादन गोष्ठीका कारण प्रहरीको काम सिस्टमेटिक बनाउन आफु सफल भएको बताए ।

उनले अन्य प्रदेशका प्रहरीभन्दा बागमती प्रदेशका प्रहरी अब्बल रहेको दावी गर्दै आफुले मासिक रुपमा जिल्ला प्रहरी कार्यालयहरूको कार्यसम्पादनको मूल्यांकन गर्ने गरेको बताए । हरेक महिनाको मुल्याङ्कनलाई अध्ययन गरी प्रहरी सेवामा आवश्यक सुधारसमेत गरेको उनको भनाइ थियो ।



 

प्रतिक्रिया दिनुहोस