गाईको मासु खाएका होइनौं : कान्छीमाया

सोमबार, १२ चैत्र २०७४, १७ : ०५
गाईको मासु खाएका होइनौं  : कान्छीमाया

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी रमनटारमा गाई काटेर मासु खाएको आरोपमा पक्राउ परेकाहरुले आफूहरुले गाई काटेर नखाएको दाबी गरेका छन् । आज जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेको पत्रकार र जनप्रतिनिधिको टोलीसँग कुराकानी गर्दै उनीहरुले आफूहरुले गाईको मासु नखाएको बताएका हुन् ।

घटना घटेको करिब ५ महिनापछि पक्राउ पर्नु भएकी आरोपी कान्छीमाया ब्लोनले आफूलाई फरार भनिएपनि आफू घरमै बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताउनु भयो । ‘हामीहरुले गाईको मासु खाएकै होइनौं’ उहाँले भन्नुभयो, ‘हामीहरुलाई फँसाउने काम भइरहेको छ ।’ लामो समयदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसिरहेका उनीहरुले आफूहरु निर्दोष हुँदाहुँदै पनि फसाइएको बताएका छन् ।

भेटघाटका क्रममा प्रदेश नम्बर तीनका प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले आरोपीहरुलाई चिन्ता नलिन आग्रह गर्नुभयो । उहाँले घटनाको चाँडै फैसला हुने समेत बताउनु भयो । बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानले आरोपीहरुलाई नडराई स्पष्ट आफ्नो कुरा राख्न आग्रह गर्नुभयो । घटनाले राष्ट्रिय बहस सिर्जना गरेको भन्दै उहाँले यो समस्या एउटा नतिजामा गएरमात्र टुङ्गिने बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य कमानसिं पाख्रिनले बिनाकारण निर्दोषले दण्डित हुने अवस्था आउन नदिन सबै एकजुट हुनुपर्ने बताउनु भयो । देश राजनीतिक स्थिरतातिर अघि बढिरहेको बेला यस्ता घटनाले सामाजिक र साम्प्रदायिक सद्भाव खल्बलिने अवस्था सिर्जना हुनसक्ने बताउँदै उहाँले यस्तो काम कसैबाट हुन नहुने बताउनु भयो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानले आरोपीहरुलाई यथासक्दो चाँडो छुटाउन प्रयास भइरहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले निर्दोषलाई कारबाही नहुने भन्दै कानुनसम्मत तरिकाले प्रहरीले काम गर्ने बताउनु भयो । गत कात्तिक २७ गते बेलुका गाई काटेको अभियोग लागेका हेटौँडा १२ पदमपोखरी रमन्टार बस्ने गाई धनी ५५ वर्षीया कान्छीमाया ब्लोनलाई घटना भएको करिब ५ महिनापछि गत फागुन १५ गते मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले फरार भनेपनि गाई धनी ब्लोन घरमै बसेकी र सोझी उनलाई मागेको जति पैसा दिन नसकेपछि पक्रिएको आरोप स्थानीयवासीको छ । घटना भएको करिब ५ महिनापछि आरोपीलाई पक्राउ गरिनुले पनि घटनामा निकै चलखेल भएको आशंका गरिएको छ । गाई काटेर खाएको अभियोगमा कान्छीमाया ब्लोनसहित मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस