ओली–नेपाल वार्ता निष्कर्षविहीन

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, १३ : ४८
ओली–नेपाल वार्ता निष्कर्षविहीन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार धुम्बाराहीमा बसेको वार्ता निष्कर्षविहीन भई सकिएको छ । दुवै पक्षले आफ्नो अडान प्रस्तुत गरेपछि वार्तामा ठोस निर्णय हुन नसकेको हो । 

वार्तापछि नेपाल पक्षका नेता रघुजी पन्तले भने, ‘दुवै पक्षले आ–आफ्नो अडान प्रस्तुत गरे । छलफल जारी रहन्छ ।’ 

वार्तामा ओलीका तर्फबाट ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहितका पाँच नेता तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल, घनश्याम भुषाल र गोकर्ण विष्ट सहभागी थिए ।

२८ फागुनमा ओली पक्षले गरेको निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको अडान लिएको छ । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा माधव नेपाल पक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको बताए । त्यसमा अध्यक्ष ओलीबाट ठोस जवाफ नआएको बताए ।

ओलीले नेता नेपाललाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । तर नेपालले एक्लै भेट्न अस्वीकार गरी ओलीसँग वार्ताका लागि आफू पक्षका नेताहरुसहित पार्टी कार्यालय धुम्बाराही गएका थिए ।

प्रतिक्रिया दिनुहोस