माओवादी केन्द्रमा नफर्किएका बादलसहित १३ जना सांसदको पद धरापमा

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, १५ : १०
माओवादी केन्द्रमा नफर्किएका बादलसहित १३ जना सांसदको पद धरापमा

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माओवादी केन्द्रमा नफर्किएका बादलसहित १३ जना सांसदको पद धरापमा परेको छ । माओवादी केन्द्र बाट चुनाव जितेका संघीय संसदका ६ र प्रदेश सभाका ७ सांसद एमालेमै बस्ने भएपछि उनीहरुको सांसद पद धरापमा परेको हो । 

आफ्नो पूर्व पार्टीमा नफर्किने भएपछि माओवादी केन्द्रको शनिवार बसेको स्थायी कमिटी बैठकले रामबहादुर थापा बादल सहितका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ भने आइतबारको केन्द्रीय कमिटी बैठकले उनीहरुमाथि कारवाही गर्ने तयारी गरेको छ । पूर्व पार्टी माओवादी केन्द्रमा रहेका २३ जना नेता एमालेमा गएका छन् ।

जसमध्ये संघीय संसदका ६ जना र प्रदेश सांसद ७ जना छन् । गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्का राष्ट्रिय सभा सदस्य हुन भने श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट र शहरी विकास मन्त्री प्रभु साह प्रतिनिधि सभा सांसद हुन् । 

 उनीहरुलाई पार्टीमा फिर्ता बोलाउने र नफर्किएमा साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने तयारी थालिएको छ । साथै उनीहरुलाई प्रक्रिया अनुसार सांसद पद समेत नरहने गरी कारवाही गरिने माओवादी केन्द्रका नेताहरुको भनाइ छ ।

प्रदेश सभातर्फ ताप्लेजुङका टंक आङवोहाङ, बाराका ज्वाला कुमारी साह, रुपन्देहीका दधिराम न्यौपाने, गुल्मीका दिनेश पन्थी, सुर्खेतका ठम्मर विष्ट, दैलेखका धर्मराज रेग्मी र अछामका झपट बोहोरा रहेका छन् । 

माओवादीकै मणि थापा र दावा तामाङ मन्त्री भएपनि उनीहरु सांसद हैनन् ।

प्रतिक्रिया दिनुहोस