भजनी । सरकारले भारतसँग सीमा जोडिएका सिमानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन । नाका नखुल्दा अहिले दैनिक सयौँ भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् ।
खुला सिमानाका कारण नेपाली तथा भारतीय नागरिक लुकिछिपी नेपाल–भारत प्रवेश गर्ने गरेको भए पनि सीमा प्रहरी मुकदर्शक जस्तै बनेको छ । पहिले सो भन्सार कार्यालयमा मात्र सीमासुरक्षा प्रहरीको क्याम्प रहँदा लुकिछिपी आउने क्रमलाई रोक्न चुनौती रहे पनि अहिले एक किलोमिटरको दूरीमा सीमा सुरक्षा प्रहरीको क्याम्प स्थापना भएको छ ।
अवैधरुपमा प्रवेश गर्नेको क्रम भने घट्नुको साटो दिन प्रतिदिन बढ्दै गएको छ । सरकारले भारतीय नागरिकलाई कोरोना नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य गरेको छ । भारतको तिकुनियाँका हरिश कुरेसीले प्रहरीको आँखा छलेर आफूहरु कामका लागि नेपाल प्रवेश गरेको जानकारी दिए ।
“नेपाल नआएर घरमा चुलो बल्दैन । दिनभरी सङ्कलन गरेको कवाडी सामान बेचेर घर चलाउछौँ”, उनले भने, “प्रहरीलाई पैसा दिएर भए पनि नेपाल आउनु हाम्रो बाध्यता हो । दैनिक २०० भन्दाबढी दैनिक नेपाल आउछन् होला ।”
खक्रौला बिओपीका प्रमुख पदमराज भट्टले भन्सारमा सामान आयात निर्यात भए पनि मानिसको आवतजावत भने नभएको दाबी गरे । उनले भारतीय नागरिक नेपाल प्रवेश गरेको सूचना आफूहरुलाई पनि आएको जनाउँदै लुकिछिपी प्रवेश गर्ने ती नाकामा आफ्नो कार्यक्षेत्र नपरेको बताए । “पहिले खक्रौला बिओपीबाटै हेर्नुपर्ने अवस्था थियो ।
अहिले कौवाखेडा, कालाकुण्डमा बिओपी स्थापना भइसकेपश्चात् हाम्रो कार्यक्षेत्र घटेको छ”, उनले भने, “हाम्रो क्षेत्रबाट कोही पनि प्रवेश गरेको छैनन् । हामीले मातहतको निकायमार्फत पाएको आदेशलाई पूर्णरुपमा कार्यान्वयन गरेका छौँ ।”
कालाकुण्डा बिओपी प्रमुख केशव गोइलाले भारतीय नागरिकलाई रोक्नका लागि आफँै लागिपरेको जानकारी दिदैँ आफ्नो कार्यक्षेत्रभन्दा बाहिरबाट भारतीय नागरिक प्रवेश गर्ने गरेको बताए ।
“पथरैया र मोहना नदीको सङ्गमस्थलबाट भारतीय नागरिक नेपाल प्रवेश गरिरहेका छन् । पथरैया नदी तरेर जानसक्ने अवस्था छैन”, उनले भने , “नदीका कारण पनि अवैधरुपमा आवागमन बढेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०१ चैत्र २०७७, १३ : २६
लेखकबाट थप