अम्रिसो भारत निर्यात हुँदा नेपालमा कुचोको मूल्य बढ्यो

रासस

आइतबार, ०१ चैत्र २०७७, १३ : १५
अम्रिसो भारत निर्यात हुँदा नेपालमा कुचोको मूल्य बढ्यो

धरान ।  पहाडी जिल्लामा उत्पादन हुने नगदेबालीका रुपमा रहेको अम्रिसो कुचोको मूल्य यो वर्ष उच्च भएको छ । अम्रिसो भारत निर्यात हुन थालेपछि यस वर्ष कुचोको मूल्य पनि आकासिएको बताइएको छ । विगतमा प्रतिवटा रु ४० का दरले बिक्री हुँदै आएको अम्रिसो कुचो अहिले बजारमा रु १०० देखि १३० सम्म बिक्री भइरहेको पाइएको छ । 
    
अम्रिसो कुचोको मूल्य गत वर्षको तुलनामा तीनगुणा बढेको सुनसरी धरानस्थित कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । उनले गएको वर्षमा रु ४० का दरले बिक्री गर्न पनि कठिनाइ भएकामा अहिले मूल्य बढेको बताए । उनले भने , “अम्रिसो कुचो भारतीय मजदूरले प्याक गरेर भारत लाने गरेका छन्, नेपाली बजारमा १० प्रतिशत मात्र बिक्री हुने अम्रिसो कुचोको ठूलो बजार भारत हो । अहिले भारततर्फ कम्तीमा पनि ९० प्रतिशत अम्रिसो निर्यात भएको छ ।” 
    
पहिले विदेश त्यति निर्यात नहुने गरेको अम्रिसो केही वर्ष यतादेखि भारतीय बजारमा माग बढ्दा यता नेपाली बजारमा मूल्य बढेको बताइएको हो । सामान्य पाखो जमीनमा उत्पादन हुने अम्रिसो कुचोको भाउ यस वर्ष सोचेभन्दा उच्च भएपछि कृषक भने खुशी भएका छन् । कतिपय किसान अम्रिसो खेतीमा लाग्न थालेका छन् ।  
    
धरान–२० विष्णुपादुकाको तामाखाममा करीब पाँच बिघा जग्गाको पाखो भित्तामा अम्रिसो खेती गर्दै आएका कृषक आइत राई यो वर्ष मूल्य राम्रो पाउँदा खुशी भएका छन् । “यसमा हाम्रो केही मेहनत हुँदैन । एक पटक रोपेपछि धेरै वर्षसम्म केही गर्नुपर्दैन ।

पाखा बारीमा लगाएको अम्रिसोले राम्रै आम्दानी ग¥र्यो”, कृषक राईले भने। एकपटक रोपेपछि करीब २० वर्ष खासै स्याहार, गोडमेल, मल पानी लगाउन नपर्ने भएकाले लागत खर्च कम हुने गरेको छ । भाउ बढ्यो भने फाइदैफाइदा छ । यो वर्ष कुचोको भाउ बढेकाले कृषक निराश हुनु नपरेको कुचो व्यवसायी बिनोद कुलुङ बताउँछन् ।  
    
विनोद कुलुङ, दीपक साहलगायतले धरानको कृषिउपज बजारमा कुचो बिक्री गर्दै आएका छन्  । उनिहरुले कृषकबाट अम्रिसो सङ्कलन गरेर भारतीय बजारमा पठाउने गरेका छन्  । अहिले भारतीय बजारमा यसको निर्यात बढ्न थालेपछि धेरै किसान तथा व्यवसायी अम्रिसोको उत्पादन व्यवसायमा लागेका पाइएको छ ।   

प्रतिक्रिया दिनुहोस