माओवादी केन्द्रको बैठक पेरिसडाडाँमा सुरु, बादललगायत २३ जनालाई कारबाही होला त !

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, १२ : ०२
माओवादी केन्द्रको बैठक पेरिसडाडाँमा सुरु, बादललगायत २३ जनालाई कारबाही होला त !

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय पेरिसडाडाँमा सुरु भएको छ । अदालतले माओवादी केन्द्र ब्युँताएपछि यो बैठक पहिलो हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी केन्द्रले लिने भूमिकाबारे छलफल हुँदैछ । आजको वैठकमा माओवादी केन्द्रको पार्टी छोडेर केपी ओलीको एमालेतिर लागेकाहरुलाई कस्तो कारबाही गर्ने विषयमा छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए ।

माओवादी केन्द्रका नेताहरुलाई केपी ओलीले आफ्नो पार्टीको केन्द्रीय समितिमा राखेका नेताहरुलाई पार्टीमा फर्काउन पहल गर्ने या दल त्याग गर्न लगाउने या कारबाही गरी निकाल्ने विषयमा आजको बैठकले निर्णय लिनेछ । माओवादी केन्द्रका गृहमन्त्री रामवहादुर थापा ९बादल०, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापालगायतका २३ नेताहरु ओली समूहमा लागेका छन् । 

हिजो बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले ओली समूहमा लागेका २३ नेताहरुलाई दल त्याग गर्ने या पार्टीमा फर्किने विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एमालेतर्फ लागेका माओवादी धारका ती नेताहरु सांसद पद गुमे पनि ओलीको साथ नछोड्ने सार्वजनिक अभिव्यक्ति दिने काम गरिरहेका छन् । उनीहरुले कुनै स्पष्टीकरण हालसम्म दिएका छैनन्, दिने सम्भावना पनि छैन । रामबहादुर थापा बादलले त ओली समुहले दिएको बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी नै सम्हालिसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस