माओवादी केन्द्रको बैठक आज बस्दै, ओली पक्षमा लागेका नेताहरुलाई कारबाही गरिने

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, ०९ : २३
माओवादी केन्द्रको बैठक आज बस्दै, ओली पक्षमा लागेका नेताहरुलाई कारबाही गरिने

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । ओली पक्षमा लागेका नेताहरुको विषयमा बैठक केन्द्रित हुने बताइएको छ । सर्वाेच्च अदालतले नेकपाको एकता बदर गरेर तीन वर्ष अगाडिको पूर्व पार्टी ब्यूताइदिने निर्णय गरेपछि माओवादी केन्द्रको औपचारिक केन्द्रीय समितिको बैठक बस्न लागेको हो । 

आजको वैठकमा माओवादी केन्द्रको पार्टी छोडेर केपी ओलीको एमालेतिर लागेकाहरुलाई कस्तो कारबाही गर्ने विषयमा छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए । माओवादी केन्द्रका नेताहरुलाई केपी ओलीले आफ्नो पार्टीको केन्द्रीय समितिमा राखेका नेताहरुलाई पार्टीमा फर्काउन पहल गर्ने या दल त्याग गर्न लगाउने या कारबाही गरी निकाल्ने विषयमा आजको बैठकले निर्णय लिनेछ । माओवादी केन्द्रका गृहमन्त्री रामवहादुर थापा (बादल), उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापालगायतका २३ नेताहरु ओली समूहमा लागेका छन् । 

हिजो बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले ओली समूहमा लागेका २३ नेताहरुलाई दल त्याग गर्ने या पार्टीमा फर्किने विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एमालेतर्फ लागेका माओवादी धारका ती नेताहरु सांसद पद गुमे पनि ओलीको साथ नछोड्ने सार्वजनिक अभिव्यक्ति दिने काम गरिरहेका छन् । उनीहरुले कुनै स्पष्टीकरण हालसम्म दिएका छैनन्, दिने सम्भावना पनि छैन । रामबहादुर थापा बादलले त ओली समुहले दिएको बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी नै सम्हालिसकेका छन् ।

आजको केन्द्रीय समिति बैठकबाट ओली समूहमा लागेका नेताहरुको विषयमा निर्णय लिने तयारीमा माओवादी केन्द्र छ । ओलीको सरकारमा रहेका माओवादी तर्फका नेताहरुलाई माओवादी केन्द्रले मन्त्रीबाट फिर्ता बोलाइसकेको छ । तर मन्त्रीहरु भने फिर्ता आएका छैनन् । माओवादी केन्द्रले भनेको कुनै कुरा मानेका छैनन्, जसका कारण आजको माओवादी केन्द्रको आजको बैठकले उनीहरुलाई कारबाही गर्ने सम्भावना बलियो बनेको छ । 

उता माओवादी केन्द्रको आजको बैठकले पार्टीको नाम फेर्ने विषयमा पनि छलफल हुन सक्ने जनाइएको छ । माओवादी केन्द्रले तीन वर्ष अगाडि नै एमालेसँगको एकतापछि माओवादी नाम छोडिसकेको तर त्यही नाममा संगठित भइँरहदा अन्य कम्युनिष्ट समूहमा छरिएर रहेका नेतालाई साथ लिन अप्ठयारो पर्ने देखेपछि नाम फेर्ने विषयमा छलफल हुन सक्ने एक नेताले बताए ।

त्यस्तै आजको बैठकमा संगठनात्मक जिम्मेवारीका विषयमा पनि छलफल हुने भएको छ । संगठनात्मक विषयमा मोडालिटी बनाउन पम्फा भुषाल, जर्नादन शर्मा, वर्षमान पुन र देव गुरुङ रहेको कार्यदल बनाएको छ । त्यो कार्यदलले गरेको छलफलका विषयमा पनि आजको केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस