विश्वमा द्वन्द्व कम गर्ने मात्र होइन यसलाई रोक्ने कार्यक्रम गर्नुपर्छ : एन्टोनियो गुटेरेस

रासस

शुक्रबार, २८ फागुन २०७७, १४ : ४७
विश्वमा द्वन्द्व कम गर्ने मात्र होइन यसलाई रोक्ने कार्यक्रम गर्नुपर्छ : एन्टोनियो गुटेरेस

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा द्वन्द्व रोक्ने कामका लागि अधिकतम प्रयास गर्न विश्वका सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । 

उनले राष्ट्रसंघीय अधिकार तथा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई यो आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘‘विश्वमा द्वन्द्व कम गर्ने मात्र होइन यसलाई रोक्ने या स्थगित गर्नेतर्फ कार्यक्रमहरु केन्द्रित गर्नुपर्दछ, त्यसका लागि विश्वका सबै सदस्य राष्ट्रहरुको सक्रिय रुपमा सहयोग आवश्यक छ । ’’

महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकलाई भिडियो कन्फ्ररेन्सिङको सहायताले सम्बोधन गर्दै यसका लागि परराष्ट्र लगायतका आफ्ना नीतिहरु पनि आवश्यक रुपमा अवलम्बन गर्न सदस्य राष्ट्रहरुलाई आग्रह गरे । 

सो सम्बोधनका क्रममा उनले भनेका थिए,  ‘‘म सबै सदस्य राष्ट्रहरुसँग यो आग्रह गर्न चाहन्छु कि विश्वमा द्वन्द्व रोक्ने अर्थात यसको प्रभाव कम गर्ने खालका उपाय र नीतिहरुको खोजी गर्ने होइन कि द्वन्द्वको अवस्था आउनै नदिने र आए पनि त्यसलाई निर्मूल पार्नेगरी नीति नियमहरु बनाउनु आवश्यक छ ।’’

विश्वमा अहिले नागरिकहरुले विभिन्न प्रकारका द्वन्द्वहरु र त्यसबाट सिर्जित हिंसा खेपिरहेका छन् भन्दै महासचिव गुटेरेसले यस्ता कैयौँ प्रकारका द्वन्द्व तथा हिंसाहरुलाई झन् बढाउने काममा कोभिड १९को महामारीले इन्धनको काम गरेको बताए । 

त्यसैले पनि यस्ता द्वन्द्वहरुको कारण खोजेर तिनलाई निर्मूल गर्नेगरी काम गर्नुपर्ने उनले बताए । महासचिव गुटेरेसले यस कार्यका लागि सहजीकरण गर्न राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई निर्देशन पनि दिएका थिए ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस