जिल्ला अदालतद्वारा नौ सय मुद्दा फैसला

रासस

विहीबार, २७ फागुन २०७७, १६ : ०२
जिल्ला अदालतद्वारा नौ सय मुद्दा फैसला

काठमाडौं । जिल्ला अदालत मकवानपुर हेटौँडाले चालु आर्थिक वर्षको हालसम्म ८८५  मुद्दाको फैसला गरेको छ । अघिल्लो वर्षको  जिम्मेवारी सरेका ४३१ र चालु आवको ४५४ मुद्दाको फैसला गरेको  हो । एक हजार ४० मुद्दा चालु अवस्थामा रहेको सो अदालतले जनाएको छ ।

अदालतबाट प्राप्त विवरणअनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालु आवमा हालसम्म कूल एक हजार ९२५ मुद्दा दर्ता भएको बताइएको छ । अघिल्लो आवमा सरेर आएको मुद्दा सङ्ख्या ९१४ रहेको छ भने चालु आवमा हालसम्म एक हजार ११ मुद्दा दर्ता भएको छ ।

अठार महिनादेखि दुई वर्षसम्मका ६६ मुद्दा, एक  वर्षदेखि  १८ महिनासम्मका  १४५ मुद्दा, छ महिनादेखि एक वर्षसम्मका ३०१ मुद्दा र छ महिनायताका ५१४ मुद्दा चालु अवस्थामा रहेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

सो अदालतको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै उनले जिल्ला अदालत मकवानपुरमा दुई वर्षभन्दा  बढीका चारवटा मुद्दा फैसला गर्न बाँकी रहेको र उक्त मुद्दा चालु आवमा फैसला हुने बताए । “विश्वव्यापीरुपमा फैलिएको कोरोना माहामारीले अदालतको फैसलामा पनि असर परेको उल्लेख गर्दे कारोना माहामारी नभएको भए पुराना मुद्दा फैसला भइसकेको हुन्थ्यो”, उनले भने ।

‘एक मिसन एक भिजन, एक वर्षभित्र न्याय सम्पादन’  भन्ने नाराका साथ अदालतले काम गरिरहेको जानकारी दिँदै सो अदालतका नायबसुब्बा पुरुषोत्तम गुरागाईँले पञ्चवर्षीय रणनीति तयार गरी सोहीअनुसार काम भइरहेको बताए । चालु आवमा एक हजार ६१९ नयाँ मुद्दा दर्ता हुने लक्ष्य लिएको अदालतले जिम्मेवारी सरेकासहित चालु आवमा एक हजार ७२४ मुद्दा फछ्र्योट गरिसक्ने लक्ष्य लिएको गुरागाईँले जानकारी दिए ।

साथै जिल्ला अदालत मकवानपुरले कोरोना महामारीको समयमा इजलासलाई सहज सञ्चालनका लागि  सहयोग  गर्नेलाई  सम्मानसमेत गरेको जनाइएको छ । सो अतालतको नयाँ भवन पनि निर्माण भइरहेको छ । उक्त भवन निर्माण भएपछि काम गर्न थप सहज हुने बताइएको छ । 
 

प्रतिक्रिया दिनुहोस