प्रदेश नम्बर २ प्रमुख झाबाट दुई वटा विधेयक फिर्ता

सफल खबर संवाददाता

बुधबार, २६ फागुन २०७७, १२ : ५८
प्रदेश नम्बर २ प्रमुख झाबाट दुई वटा विधेयक फिर्ता

काठमाडौँ । प्रदेश नम्बर २ का प्रमुख राजेश झाले दुई वटा विधेयक फिर्ता पठाएका छन् । प्रदेश सरकारले प्रमाणिकरणका लागि पठाइएको दुई वटा विधेयक प्रदेश प्रमुख झाले फिर्ता पठाएका हुन् । स्वास्थय सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख झाले फिर्ता पठाएका छन् ।

सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनाएको विधेयक पारित गराएर प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । तर सो विधेयकमा मातृत्व सुरक्षा लगायतका विषय वस्तुहरु नसमेटिएको भन्दै आवश्यक सुझाव सहित परिमार्जन गरेर विधेयक ल्याउन भन्दै फिर्ता पठाएको छ ।

त्यसैगरी प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गराएर प्रमाणिकरणको लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । सो विधेयकमा किसान लगायतकाहरुलाई पदक दिने व्यवस्था नगरिएको भन्दै सुझाव सहित प्रदेश सभालाई विधेयक फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशभित्र विशिष्ठ योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्नका लागि प्रदेश सरकारले पदक प्रदान गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्नको लागि विधेयक निर्माण गरेको थियो । सरकारले यसै चालु आर्थिक वर्षमा पदक वितरणको लागि करिब १० लाख रुपैयाँ पनि विनियोजन गरेको छ । विधेयकमा प्रदेश स्थापना पूर्व नै नाम घोषणा गरी स्थापनाको दिन फागुन ३ गते पदक दिने गरी विधेयक प्रदेशसभाबाट पारित गराएको थियो ।  

सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रमाणिकरणको लागि पठाइएको विधेयक प्रदेश प्रमुखले सुझाव सहित बढिमा दुई पटक मात्रै फिर्ता गर्न सक्ने प्रतिक्रिया दिए । उनले भने– आफुले फिर्ता गरिएको सो विधेयकको विषयमा जानकारी नलिएको र के सुझाव दिएर पठाएको हो वा दुःख दिने कामले मात्रै फिर्ता पठाएको हो भन्ने कुरा हेरेर बताउछु ।

प्रदेश २ मा प्रदेशसभाबाट हालसम्म ३९ वटा विधेयक प्रमाणीकरण भएको छ । प्रमाणिकरणसंगै ऐन बनेपनि अधिकांश ऐन संघीय ऐनको अभावमा कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस