एमालेका नेता रघुजीविरुद्ध कोमल वलीको गाली बेइज्जती मुद्दा दर्ता

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, १२ : ४६
एमालेका नेता रघुजीविरुद्ध कोमल वलीको गाली बेइज्जती मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय सभा सांसद कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेकी छन्। गायिकासमेत रहेकी वलीले कानुनविद्सँगको परामर्शपछि मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर गाली बेइज्जतीको मुद्दा दर्ता गरेकी हुन् । 

पन्तले आफूविरुद्ध अभिव्यक्त गरेको विचारले मानसम्मानमा चोट पुगेकाले मुद्दा दर्ता गरेको ओलीले बताइन् । ‘म आफैँले न्यायको लागि बोल्न सकिन भने, मैले कसरी जनताको न्यायको बारेमा बोलौंला,’ उनले भनिन्, ‘यो मेरा लागि बाध्यात्मक विषय पनि हो ।’

ओलीविरुद्ध रघुजी पन्तले पिडौंला देखाएर राष्ट्रिय सभा सांसद र पार्टीको केन्द्रीय सदस्य बनेको आरोप लगाएका थिए । सार्वजनिक सञ्चारमाध्यममा वलीको पक्षमा जनतामा बढ्दै गएर आफ्नो आलोचना हुन थालेपछि पन्तले सार्वजनिक रुपमै माफी समेत मागेका थिए ।

उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् । वलीले लगाएको आरोप पुष्टि भएमा पन्त मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ अनुसार पन्तलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।

तर, ओलीले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेको हुँदा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना माग गरेकी छन् । वलीले उचित क्षतिपूर्तिसहित मुद्दामा लागेको खर्चसमेत पन्तबाट भराउन पनि माग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस