संसद बैठकमा प्रचण्ड–माधव समूहका सांसद पनि सत्तापक्षकै लहरमा बस्ने

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, १३ : १५
संसद बैठकमा प्रचण्ड–माधव समूहका सांसद पनि सत्तापक्षकै लहरमा बस्ने

file photo

काठमाडौँ । कानूनीरुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुटेको हुँदा आइतबार दिउँसो ४ बजे बस्ने संसद बैठकमा प्रचण्ड–माधव समूहका सांसद पनि सत्तापक्षकै लहरमा बस्ने भएका छन् ।

दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ ।

संसघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले संसद सचिवालयमा गरेको पत्रकार सम्मेलनमा नेकपा दुवै खेमाका सांसदलाई सत्ता पक्षका लहरमा राखिने बताए । उनले भने, ‘दलको दुईवटा समूहको छलफल चलिरहेको र दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले एउटै रोमा बस्ने व्यवस्था मिलाइएको छ ।’

सरकारले गत पुस ५ गते संसद विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ गते असंवैधानिक ठहर गर्दै संसद पुनःस्थापना हुने फैसला गरेको थियो । सोही पुनःस्थापित संसदको बैठक आइतबार अपराह्न चार बजे बस्दै छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि नेकपा दुई खेमामा विभाजित छ । एउटा खेमाको नेतृत्व ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् ।

संसद् सचिवालयका एक अधिकारीका अनुसार बैठक कक्षको पूर्वपट्टि अर्थात् सभामुख आसनको बायाँ भागमा प्रतिपक्षी दलका लागि दुईवटा रो छुट्ट्याइएको छ ।

पश्चिमपट्टिका चारवटा रो भने सरकार र सत्तापक्षका लागि छुट्टयाइएको छ । पूर्वबाट तेस्रो रोमा प्रधानमन्त्री र सरकारका मन्त्रीहरूका लागि सीट छुट्टयाइएको हुन्छ ।

सरकारका मन्त्रीहरूको एकापट्टी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बस्दै आएका छन् भने छेउको रोमा प्रतिपक्षमा रहेको जसपा बस्दै आएको छ ।

सरकारका मन्त्रीहरूसँगैको रोमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, सुवास नेम्वाङलगायत सरकारबाहिर रहेका सांसदहरू बस्दै आएका थिए । 

आइतवारको बैठकमा प्रचण्ड–नेपाल समूह बैठक कक्षको पश्चिमपट्टिको दुईवटा रोमा बस्ने तयारी गरेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस