आजको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने कार्यसूची यस्ता छन्

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, ०९ : ०९
आजको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने कार्यसूची यस्ता छन्

काठमाडौं।  प्रतिनिधिसभाको बैठक आज बस्दै छ। ४ बजे संसद् भवन नयाँ वानेश्वरमा बैठक बस्न लागेको हो । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ मा सरकारले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि पहिलो बैठक भएकाले निकै महत्वका साथ हेरिएको छ।

नेकपा दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओली भने विश्वासको मत नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने रणनीतिमा छन् । नेकपाको प्रचण्ड माधव समूह प्रधानमन्त्री ओलीलाई हटाउन अविश्वासको प्रस्ताव लैजाने सम्भावना बढी छ । 

प्रधानमन्त्री ओलीलाई असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै नेकपाकै अर्को धार प्रचण्ड माधव समूह जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अविश्वासको प्रस्ताव आजको बैठकमा लैजाँदै छन् भने प्रधानमन्त्री ओली कसैले हटाउन नसक्ने र डटेर सामना गर्ने जनाएका छन् । संवैधानिक नैतिकताको आधारमा नेकपाकै प्रचण्ड समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत दलले प्रधानमन्त्री पदबाट ओलीको राजीनामा माग्दै आएका छन्।

अविश्वास प्रस्ताव पारित भएको अवस्थामा भने संविधानको धारा ७६ को उपधारा (२), (३) र (५) अनुसार सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ। उपधारा २ अविश्वासको प्रस्ताव संसद्बाट पास भएको अवस्थामा सरकार गठनको पहिलो विकल्प हो।

चर्चा चलेअनुसार कांग्रेसले भने अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । त्यो पुष्टि हुन बाँकी छ। गणितलाई आधार मान्दा कांग्रेसले जसलाई समर्थन गर्छ, उसैले राजनीतिक लाभ हुने देखिन्छ। सङ्घीय संसद् (प्रतिनिधिसभा) सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्।

सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर पनि सुनाउने कार्यतालिका छ। यसपछि सभामुखले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् ९काम, कर्तव्य र अधिकार कार्यविधि सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ पेश गर्नेछन्। गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय (पहिलो संशोधनं) अध्यादेश – २०७७, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेश गर्ने संसद् सचिवालये सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ। 

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेश गर्नेछन्।