३६ वर्षअघि चोरिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

सफल खबर संवाददाता

शनिबार, २२ फागुन २०७७, ११ : २१
३६ वर्षअघि चोरिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

काठमाडौँ । अमेरिकाले ३६ वर्षअघि पाटनबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति  नेपाललाई हस्तान्तरण गरेको छ । शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा अमेरिकाले नेपाललाई उक्त प्राचीन मूर्ति हस्तान्तरण गरेको हो ।

एफबीआईका उपसहायक निर्देशक तिमोथी एन डन्हाम अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई वासुदेव (कमलाजाको मूर्ति हस्तान्तरण गर्दै अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का उपसहायक निर्देशक तिमोथी एन डन्हामले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई उक्त मूर्ति हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा राजदूत नेपालको प्राचीन मूर्ति फिर्ताका लागि पहल गरेकोमा अमेरिकी सरकारलाई विशेष धन्यवाद पनि दिए । सांस्कृति सम्पदाको संरक्षणका लागि दुई मुलुकबीच भएको सहकार्यको पनि राजदूत खतिवडाले प्रशंसा गरे । उनले मूर्ति फिर्ताका लागि पहल गरेकोमा सञ्चारमाध्य, सम्पदाविद् तथा विज्ञहरु, अमेरिकी विदेश मन्त्रालय, एफबीआई, काठमाडौंस्थित अमेरिकी दूतावास र डल्लास म्युजियम अफ आर्ट्सलाई पनि धन्यवाद व्यक्त गरे । वासिङ्टनस्थित नेपाली दूतावासले केही प्रक्रिया पूरा गरेर उक्त मूर्ति नेपाल पठाइने जानकारी दिएको छ ।

अमेरिकी विदेशमन्त्रालयका प्रमुख उपसचिव इर्भिन मासिंगाले नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकाले सधैँ सहकार्य गर्ने र वासुदेव–कमलाजा जस्तो प्राचीन मूर्ति हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे । अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो ।

डल्लास म्युजियमले भने गत नोभेम्बर ३० मै यो मूर्ति एफबीआईलाई हस्तान्तरण गरिसकेको थियो । आर्थिक संकटकै कारण फिर्ता ल्याउन नसकेर अमेरिकामै थन्किने अवस्थामा पुगेको वासुदेव–कमलाजाको मूर्तिलाई लागेजति खर्च बेहोरेर घर फिर्ता ल्याउने ललितपुर महानगरपालिकाले घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस