वर्षौंदेखि सुनसान यातायात व्यवस्था कार्यालय

रासस

आइतबार, १६ फागुन २०७७, १४ : २४
वर्षौंदेखि सुनसान यातायात व्यवस्था कार्यालय

डोटी । जिल्लाको दिपायलस्थित राजपुरमा स्थापना गरिएको यातायात व्यवस्था कार्यालय  वर्षौदेखि सुनसान अवस्थामा रहेको छ । लक्ष्यअनुसारको सेवा प्रवाह तथा कर्मचारी नभएका कारण उक्त कार्यालय स्थापना कालदेखि नै प्रायः सुनसान बन्दै आएको हो । दिपायल सिलगढी नगरपालिका–४ रापजुरमा स्थापना गरिएको उक्त कार्यालय कर्मचारी अभावमा सुनसान जस्तै बनेको छ । 

कार्यालय स्थापना भएको पाँच वर्ष बितिसक्दासमेत कर्मचारी अभावका कारण पूर्णरूपमा कार्यालयको सेवा सञ्चालन हुन नसकेको भन्दै स्थानीयवासी तथा सेवाग्राही आक्रोश बन्दै गएका छन् । उक्त कार्यालयमा हालसम्म पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको हो ।आठौँ तहका कार्यालय प्रमुख रहने दरबन्दीको संरचनाअनुसार स्थापना गरिएको कार्यालयमा गत साउनदेखि कार्यालय प्रमुख नै छैनन् । 

संरचनाअनुसार आठौँ तहको कार्यालय प्रमुख, छैटौँ तहको अधिकृत एक, पाँचौँ तह एक, चौथो तह एक, मेकानिकल सुपरभाइजर र कार्यालय सहयोगी दुई गरी कूल सात जनाको दरबन्दी रहने कार्यालयमा हाल छैटौँ तहको अधिकृत एक, सहायक पाँचौँ एक, चौथो तह एक र कार्यालय सहयोगी एक गरी जम्मा चार जनामात्रै कर्मचारी रहेको निमित्त कार्यालय प्रमुख चेतराज भट्टले बताए । 

उनले भने, “हामीसँग आवश्यक पर्ने प्राविधिक कर्मचारी छैनन्, प्राविधिक कर्मचारी नहुँदा कसरी कार्यालयले सेवा प्रदान गर्न सक्नु ।” यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएको पाँच वर्ष बितिसक्दा पनि यातायात व्यवसायीले सेवा लिन कैलाली जानुपर्ने बाध्यता कायमै रहेको शैलेश्वरी यातायात प्रालीको कार्यालय प्रमुख प्रेम रावलले बताए । 
 

प्रतिक्रिया दिनुहोस