कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा रहेको नवीकरण बचत तथा ऋण सहकारी संस्थाले विपन्न सदस्यको जीवनस्तर माथि उठाउनका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरी रकम लगानी गर्दै आएको छ ।
सहकारीमा मुक्तकमैया, आरक्ष विस्थापित, गरीब तथा दलित समुदायका विपन्न व्यक्ति आबद्ध रहेका छन् । समूह जमानीका आधारमा सहकारीबाट व्यावसायिक तरकारीखेती, व्यापार र अन्य लघुउद्यम गर्न चाहने व्यक्तिलाई रु दुई लाखसम्मको रकम विनाधितो उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ ।
शुक्लाफाँटा र कृष्णपुर नगरपालिका कार्य क्षेत्र भएको सहकारीमा शुरुमा ५४ शेयर सदस्य रहेकामा त्यो सङ्ख्या बढेर हाल तीन हजार ६२२ पुगेको छ । जसमा महिला सदस्यको सङ्ख्या अधिक छ । महिला सदस्य दुई हजार ६४६ र पुरुष सदस्य ९७६ छन् ।
सहकारीमा आबद्ध अधिकांश शेयर सदस्य कृषि, व्यापार, कुखुरापालन, बङ्गुरपालन र अन्य परम्परागत सीपमा आधारित लघुउद्यम गर्दै आएको सहकारीका अध्यक्ष धनबहादुर कुश्मीले बताए । उनका अनुसार सहकारीले आव २०७६/७७ को असार मसान्तसम्म कृषिमा आबद्ध सदस्यलाई रु ८४ लाख ७८ हजार २५० रकम ऋणका रुपमा लगानी गरिएको छ ।
व्यापार ऋणमा रु ९२ लाख ४१ हजार २००, कुखुरापालनका लागि रु दुई लाख ५९ हजार ५५०, बङ्गुरपालनका लागि रु चार लाख ५९ हजार, शैक्षिक कर्जा रु तीन लाख १२ हजार ६५० र विपन्न परिवारलाई सुरक्षित आवास निर्माणका लागि रु १४ लाख १८ हजार रकम ऋणका रुपमा परिचालन गरिएको छ ।
आव ०७६/७७ को पूरै अवधिमा सहकारीले रु नौ करोड ५७ लाख ७४ हजार ७६२ रकम लगानी गरेकामा सोमध्ये रु सात करोड ४९ लाख २३ हजार ६१२ रकम असुली गरिएको छ । हाल लगानीमा रहेको रकम रु दुई करोड आठ लाख ५१ हजार १५० लगानीमा रहेको छ । व्यापार ऋणमा १६ प्रतिशत र अन्यमा १५ प्रतिशत रकम सहकारीकाले ब्याजका रुपमा लिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १५ फागुन २०७७, १३ : ३८
लेखकबाट थप