पूर्वमाओवादीबाट मन्त्री बनेर ओलीलाई साथ दिएका बादललगायतका मन्त्री चिन्तित र भयग्रस्त

सफल खबर संवाददाता

शनिबार, १५ फागुन २०७७, १२ : ४९
पूर्वमाओवादीबाट मन्त्री बनेर ओलीलाई साथ दिएका बादललगायतका मन्त्री चिन्तित र भयग्रस्त

फाइल फोटो

काठमाडौँ । पूर्वमाओवादीबाट मन्त्री बनेर पनि प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका रामबहादुर थापा, लेखराज भट्ट तथा मणि थापा, गौरीशकर चौधरी, दावा लामा, प्रभु साह, टोपबहादुर रायमाझीहरु लगायतले आफूहरुको राजनीतिक इतिहास सकिएको भन्दै अब के गर्ने, के नगर्ने भन्ने अवस्थामा पुगेका छन् ।  उनीहरु चिन्तित र भयग्रस्त देखिएका छन् । 

गुट विस्तारमा समेत पूर्वमाओवादीका मन्त्री तथा नेताको कुनै पनि कुराको सुनुवाई नगरेका कारण विगत केही दिनदेखि नै उनीहरु निराश देखिन्थे । ओली राजमा राम्रै समय सुखभोग गर्न लागिपरेका र पाइने भन्दै तीन हात उफ्रेर दौडिएका पूर्व माओवादी मन्त्रीलाई अब सर्वोच्च अदालले प्रतिनिधिसभा विघटनलाई अस्वीकार गरेपछि दिनको चैन र रातको निद्रा समेत खोसेको छ । 

पछिल्लो पटक सोही जिद्दीले प्राप्त गरेको मन्त्री पद गुम्ला कि भन्ने चिन्ताका साथ ओलीको गिरोहमा लागेका थापा समेत सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने निर्णय गरेपछि विलखबन्दमा परेका छन् । कसरी मूल घर फर्कने भनेर उनले आफ्ना निकटस्थहरुसँग भन्दै आएका छन् । अब उनको कोही पनि आफ्ना भन्ने छैनन् । उनलाई साथ दिनेहरु सबैले छाडेका छन् । विगतमा उनलाई नेता मान्नेहरु पनि यतिबेला उनीसँग छैनन् । राजनीतिक विश्लेषकहरु भन्छन्, अब उनलाई खासै अर्थमा भाऊ नदिएपनि केही फरक पर्दैन । किनकी, अब रामबहादुर नामको एउटा पात्र बाहेक उनीसँग केही बाँकी छैन ।

विगतमा क्रान्ति गर्ने भन्दै मोहन वैद्यलाई पार्टी फुटाउन उस्काउने मध्यका एक थिए  थापा । उनी सधै किचलो झिक्ने मध्यका एक हुन् र छन् । पछि क्रान्ति हुन नसक्ने भन्दै रोनाधोना गरेर उनी प्रचण्डको शरणमा पर्न आएका थिए ।  

संविधान निर्माणपछि जब निर्वाचनको तयारी हुन थाल्यो, तब थापा भन्न थाले ‘म त निर्वाचनमा लड्न जान सक्दिन , मलाई त सहज रुपमा नै प्राप्त हुने राष्ट्रियसभा सदस्य बनाइदिए हुन्छ । मेरो चासो त्यतातिर नै रह््यो ।’ सधै प्रचण्डकहाँ कुइकुई गरिरहन्थे थापा । लौ मरिखाऊ भनेर राष्ट्रियसभा सदस्य बनाउने निर्णय के भएको थियो । उनै थापा भन्न थाले , अब त म गृहमन्त्री है, यसपटक ।  मरिगए पनि मलाई यस पटक मन्त्री पद चाहिन्छ भन्दै उनले गरेको जिद्दीका बारेमा थाहा पाउने अधिक नेता तथा कार्यकर्ता नै छन् । 

प्रचण्डमुक्त नेपाल भन्दै खोक्नेहरुको बेहाल
प्रभु साहले त प्रचण्डमुक्त नेपाल बनाउने अभियान नै घोषणा गरेका थिए, रौतहट पुगेर ।  उनले ओली शक्तिशाली मात्रै नभई चक्रवर्ती प्रधानमन्त्री भएको समेत बताएका थिए । टोपबहादुर समेत ३० वर्षदेखि पार्टी नेतृत्वमा रहेको भन्दै प्रचण्डमुक्त नेपाल बनाउनु नै आजको प्रमुख आवश्यकता भएको भन्दै कुर्लने गरेका थिए । तर पछिल्लो पटक बालुवाटारमा नै बोलाएर खड्ग ओलीले नराम्ररी झपारेपछि भने टोपबहादुरको मन सामान्य बदलिएको बताइन्छ । 

उनले ओलीभन्दा प्रचण्ड नै ठिक रहेछन्, कमसेकम यति हदसम्म ओर्लेर गाली त गर्दैनन् भन्दै आफ्ना निकटस्थहरुसँग गुनासो गर्दै आएका छन् । ओलीले विद्युत प्राधिकरणले उठाउन लागेको डेडिकेटेड र टं«क लाइनको विद्युत महसुलका विषयमा केही समय पहिले निर्णय गरेका थिए । उनले किस्ताबन्दीका आधारमा झण्डै १५ अर्ब महसुल उठाउने निर्णय गरेका थिए । निर्णय भएको तर माइन्यूटमा हस्ताक्षर समेत नभएको अवस्थामा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले सबैभन्दा पहिले मन्त्री रायमाझीलाई फोन गरेर थर्काएका थिए । किनकी रिमाल र महसुल नतिर्ने व्यापारीकाबीचमा व्यापारिक सम्बन्ध रहँदै आएको छ । 

राजनीतिक रुपमा टाट पल्टिए मणि
मन्त्री पद खान दौडेर पुगेका मणि थापा अब के गर्लान् भन्ने विषय पनि यतिबेला अह्म बनेको छ । माओवादी आन्दोलनमा एउटा नाम र प्रतिष्ठा कमाएका थापालाई धेरैले सम्मानित व्यक्तित्वका रुपमा लिने गरेका थिए । 

उनको अरुण तरेर नाना तमोर तरेर जस्ता गीत सुनकै भरमा जनयुद्धमा धेरैले बलिदान गरेका थिए । मन्त्री पदका लागि आफ्नो विरासत नै त्यागेर उनले जुन खालको हर्कत गरे, ओलीको प्रतिगमनलाई जुन तरिकाले समर्थन गरे त्यसबाट थापाहरु पनि राजनीतिक रुपमा टाट पल्टिएको सहजै बुझ्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस