पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

रासस

विहीबार, १३ फागुन २०७७, १४ : २३
पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरा ।आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ । कोरोना भाइरसका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको सदाबहार चहलपहल हुने पोखरामा विदेशी पर्यटक खासै नभए पनि आन्तरिक पर्यटकको भने आकर्षण बढेको पर्यटन व्यवसायी बताउँछन् । पोखरा बजार तथा  आसपासका ग्रामीण पर्यटकीयस्थलमा पनि पर्यटक बढेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण लामो समय घरभित्र बन्द  पर्यटक त्रास कम भउपछि घुमफिरमा समय दिन थालेका छन् । साथै कोरोना खोप लगाउन शुरु भएसँगै भ्रमणको गन्तव्य पोखरा बनाउनेहरु पनि बढ्नाले आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

पोखराका प्रमुख पर्यटकीय गन्तव्य फेवाताल, फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिर, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, चमेरे गुफा, पातले छाँगो, विश्व शान्ति स्तूपलगायत स्थलमा घुमफिर गर्नेहरुको सङ्ख्या बढेको छ । फेवातालमा डुङ्गामा शयर गर्ने र  प्याराग्लाइडिङमा रमाउनेहरु पनि उत्तिकै छन् । 

देशका पूर्वमेचीबाट महाकालीसम्मका जिल्लाबाट शैक्षिक, बैंक तथा वित्तीय संस्था, सहकारीलगायतले पोखरालाई भ्रमण कार्यक्रम बनाएपछि यहाँ आन्तरिक पर्यटक बढेका हुन् । बडादशैँपछि पोखरामा पर्यटक बढ्न शुरु भएको र अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखेरलले बताए । केही तेस्रो मुलक तथा छिमेकी  भारतका पर्यटकसमेत अहिले पोखरामा छन् ।

प्रतिक्रिया दिनुहोस