एक वर्षसम्म पनि पाएनन् मजदूरले ज्याला

रासस

विहीबार, १३ फागुन २०७७, १३ : २२
एक वर्षसम्म पनि पाएनन् मजदूरले ज्याला

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदूरले एक वर्षसम्म पनि ज्याला पाएका छैनन् । 

सो विद्यालयको पर्खाल निर्माणमा काम गरेको एक वर्ष बितिसक्दा पनि उनीहरुले ज्याला नपाएका हुन् । विद्यालयको पर्खाल निर्माणका लागि आएको रकम नगरपालिकाले भुक्तानी गरिसक्दा पनि आफूहरुले ज्याला नपाएको मजूदर भीमबहादुर रौलेले बताए । नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को आठ लाख रकम बिल अनुसार भुक्तानी गरेको भए पनि काम गर्ने मजदूरले भने ज्याला नपाएको उनको गुनासो छ । 

उपभोक्ता समितिका अध्यक्ष सुशीला रौलेले रकम बुझेर ल्याएको भए पनि आफूलाई ज्याला नदिएको अर्का मजदूर अमृत देउवाको भनाइ छ । काम गरेको एक वर्षसम्म पनि पर्खाल निर्माण समितिका पदाधिकारीले सरकारी दर रेटअनुसार नदिएको ज्यालामा विवाद आएको छ । उनीहरुले काम गरेको भए पनि श्रमको ज्याला पाउन सकेका छैनन् ।

पटकपटक पर्खाल निर्माण समितिसँग  काम गरेको ज्याला माग्दा थोरै रकम दिने र सरकारी दररेटको रकम नदिने मजदूर देउवाले रासससँग दुखेसो पोखे । उनको पर्खाल निर्माणको ज्याला नपाएको भन्दै बूढीगङ्गा नगरपालिकाको न्यायिक समितिमा उजूरी गरेको भए पनि कुनै सुनुवाइ नभएको पनि बताए । 

नगरपालिकामा दिएको उजूरी न्यायिक समितिका संयोजक तथा नगरपालिकाका उप प्रमुख तारा खातीले वडामै मिलाउन भनेर उजूरी फिर्ता गरेको देउवाको छ । विद्यालयको पर्खाल निर्माण समितिका अध्यक्ष तथा पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीला रौलेले पर्खाल निर्माण उद्घाटनका बेला तत्कालीन प्रधानाध्यापक रामबहादुर रावलले सरकारी दररेटका कुरा उठाएकाले मजदूरले पनि सोही दररेटमा ज्याला पाउनुपर्ने माग राख्दै काम गरेको रकम बुझ्न नमानेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस