नेकपा प्रचण्ड–माधव समूहसँग जसपाले राख्यो यस्तो शर्त

सफल खबर संवाददाता

विहीबार, १३ फागुन २०७७, १२ : ०५
नेकपा प्रचण्ड–माधव समूहसँग  जसपाले राख्यो यस्तो शर्त

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले सरकार निर्माणका बारेमा जनता समाजवादी पार्टी नेपालसँग छलफल गरेको छ । 

आज विहान नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँग छलफल गरेको स्रोतले जनाएको छ । 

छलफल सकारात्मक भएको छ, छलफललाई निरन्तरता दिने कुरा भएको पेरिसडाँडा स्रोतले जनाएको छ । जसपा नेपालका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि सारेका छन् ।

संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाई भएपछि मात्र त्यसको सरकारमा सहभागीका लागि छलफल गर्न सकिने धारणा राखेको स्रोतले जनाएको छ । 

विगतमा पनि यस्तै छलफल र सहकार्यको नाममा सहमति गरेर सरकारमा सहभागी गराएको थियो तर ती सम्झौताहरु कुनै कार्यान्वयन नभएको गुनासो उनीहरुको रहेको स्रोत जनाएको छ ।

जसपा नेपालले साझा एजेण्डाको माग गरेको छ । अब बन्ने सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा थुनामा रहेका नेतालाई रिहाइ लगायतका विषयलाई साझा एजेण्डा बनाए मात्र सत्ता सहकार्यका लागि छलफल गर्ने कुरा राखेको छलफलमा सहभागी एक नेताले बताए । 

त्यस विषयमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्धय प्रचण्ड र माधव नेपालले मधेशको माग पुरा गर्न आफूहरु शुरुदेखि सकारात्मक रहेको त्यसका लागि प्रयास पनि गरेको आउने दिनमा पनि त्यसको बारेमा छलफल गरेर अगाडि बढ्न सकिने भन्दै छलफललाई निरन्तरता दिने सहमति गरेको छ ।

प्रतिक्रिया दिनुहोस