प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ, ढुक्क भएर राजनैतिक गतिविधि सञ्चालन गर्नुहोस् : प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, ११ फागुन २०७७, १६ : ४७
प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ, ढुक्क भएर राजनैतिक गतिविधि सञ्चालन गर्नुहोस् : प्रचण्ड

file Photo

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने भएकोले ढुक्क भएर राजनैतिक गतिविधि सञ्चालन गर्न मजदूर संगठनलाई आग्रह गरेका छन् ।

मंगलबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको ‘२० औं मजदूर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनैतिक गतिविधि बढाउन आग्रह गरेका हुन् । उनले सामाजिक न्याय सहितको नयाँ युगको लागि पुनस्थापित प्रतिनिधि सभाले काम गर्ने पनि बताए । केपी ओलीको सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गरेको उल्लेख गर्दै त्यसको विरुद्धमा देशका सबै जनता खडा भइसकेको बताए ।

उनले भने ‘अहिले केपी ओलीको सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गरेको छ र देशभरी जनता सबै आम रुपमा नै यो विघटन गलत छ भन्नेमा खडा भइनै सकेको छ । यसको साथसाथै देशका तमाम बुद्धिजीविहरु, साहित्यकार, कवि, कलाकार, पत्रकारहरु, संविधानविद्, कानूनविद्हरु सबै यो विघटनको विरुद्ध छन र मलाई विश्वास छ भोलि, पर्सि या निकपर्सिसम्म सर्वोच्च अदालतले यो संविधानमाथि गरिएको घातलाई सच्याउने छ र संसद पुनस्थापित हुनेछ । र हामी त्यहीबाट नयाँ कानून बनाउने, जनताको हक अधिकार स्थापीत गर्ने, मजदुर किसानका मौलिक अधिकार संविधानमा लेखिएको छ तर केपी ओली नेतृत्वको सरकारले लागू गरेको छैन । हामी त्यसलाई लागू गर्ने छौं र देशमा समाजवाद, समाजिक न्यायको नयाँ युगको सुरुवात हामी अगाडि बढाउने छौं ।’

अध्यक्ष प्रचण्डले अदालतमा बहस सिद्धिएपछि अहिले हेर्दाहेर्दैमा रहेको र कुनैपनि बेला संविधान र संसदलाई विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदम सच्चिने र संसद पुनस्थापना हुने विश्वास समेत व्यक्त गरे । संविधानमा कुनै अपुग भए त्यसलाई संशोधन गर्दै लैजान सकिने समेत बताए ।
 

प्रतिक्रिया दिनुहोस