पूर्वसांसद एकनाथ रानाभाटको निधन

रासस

सोमबार, १० फागुन २०७७, १६ : ०७
पूर्वसांसद एकनाथ रानाभाटको निधन

चितवन । पूर्वसांसद एकनाथ रानाभाटको सोमबार निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उनको निधन भएको हो ।

उच्च रक्तचापका कारण मस्तिष्कघात भई १६ दिनदेखि उनको मेडिकल कलेजमा उपचार भइरहेको थियो । रत्ननगर नगरपालिका वडा नं १४ पिठुवा निवासी रानाभाट २०५६ सालमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार २००९ साल कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा उनको जन्म भएको थियो ।

रानाभाट नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्ष लगायत विभिन्न पदमा पुगेका थिए ।

उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् । उनको मङ्गलबार बिहान देवघाटमा अन्त्येष्टि गरिँदैछ । नेपाली कांग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ । 

जिल्ला सभापति जीतनारायण श्रेष्ठले उनको निधनले सिङ्गो कांग्रेसलाई अपुरणीय क्षति पुगेको बताए । उनका अनुसार बिहान ८स्३० बजेदेखि एक घण्टा उनको शवलाई पार्टी कार्यालय नारायणगढमा राखिने छ ।

प्रतिक्रिया दिनुहोस