कोरोना कहर घटेपछि खप्तडमा पर्यटकको चहलपहल बढ्यो

रासस

सोमबार, १० फागुन २०७७, १५ : १८
कोरोना कहर घटेपछि खप्तडमा पर्यटकको चहलपहल बढ्यो

डोटी । कोरोना भाइरसको जोखिम घट्दै गएसँगै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । आन्तरिक तथा छिमेकी मुलुक भारतबाटसमेत पर्यटक आउन थालेपछि पछिल्लो समय खप्तडमा चहलपहल पनि बढ्दै गएको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । सुन्दर खप्तड क्षेत्रको अवलोकन गर्न हिजोआज दैनिक सयौँको सङ्ख्यामा पर्यटक यहाँ आउने गरेका खप्तड पर्यटन विकास समिति डोटीले जनाएको छ । 

विकास समितिका अनुसार यो वर्षको अहिलेसम्म भारतीयसहित ३९ जना मात्र विदेशी पर्यटकले खप्तड राष्ट्रिय निकुञ्ज अवलोकन गरेको तर तीन हजारभन्दा बढी स्वदेशी पर्यटक यहाँ पुगेका छन् । खप्तडमा पर्यटकहरु दिनहुँ आउन थालेपछि यहाँका होटेल व्यवसायी तथा सवारी साधन आम्दानीमा पनि बृद्धि भएको शैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताए । उनले भने , “पछिल्लो समय खप्तडमा पर्यटक आउन थालेका छन्, उनीहरुले गाडी रिजर्भ गर्ने भएका कारण पनि स्थानीय यातायात व्यवसायीको आम्दानी पनि बढ्न थालेको छ ।”

पछिल्लो केही दिनमात्र यता यहाँका घरबास तथा स–साना होटेल पनि आन्तरिक तथा भारतीय पर्यटकका कारण भरीभराउ हुन थालेका छन् । जिल्लामा पछिल्लो समय कोरोना भाइरसको जोखिम घट्दै गएका कारण खप्तड घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य बृद्धि भइरहेको खप्तड पर्यटक विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए । उनले भने , “कोरोनाका कारण खासै पर्यटक आएका थिएनन, अहिले जोखिम कम भएपछि पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको छ ।” 

निकुञ्जमा बाह्य पर्यटकभन्दा बाजुरा, अछाम, डोटी र बझाङका पर्यटक अवलोकन तथा भ्रमणमा बढी आउने गरेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस