त्रिशूली।भूमिसम्बन्धी समस्या समाधान आयोगको नुवाकोटमा कार्यालय स्थापना भएसगैँ काम अघि बढाइएको छ । केही दिनअघि आयोगको नुवाकोटको संयोजकमा विन्दा ढुङ्गाना, सदस्यमा बलराम आचार्य र नारायण घिमिरे चयन भएर जिम्मेवारी पाएसगैँ जिल्ला समन्वय समितिको भवनमा आयोगको कार्यालय स्थापना र जिल्लाका स्थानीतहसँग सम्झौता थालिएको छ ।
‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी’लाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबास गर्दै आएकालाई व्यवस्थापनका लागि भूमिसम्बन्धी ऐनलगायतका प्रचलित कानून अनु्सार काम गर्न सम्झौता शुरु गरिएको आयोगको नुवाकोटका संयोजक ढुङ्गानाले जानकारी दिईन् ।
उनका अनुसार भूमिहीनलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बासोबास गर्दै आएकालाई व्यवस्थित गर्न आयोगको स्थापना भए पनि स्थानीय तहमा ‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन एकाइ’ गठन गरेर निवेदन सङ्कलन गर्ने, त्यस माथि कारवाहीको लागि कार्यपालिकाको बैठकमार्फत सिफारिस गरेर पठाउनेसम्मको अधिकार स्थानीय तहलाई दिइएको छ ।
आफ्नो पालिकाभित्रका भूमिहीन र सरकारी जग्गा उपभोग गर्दै आएका अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन तथा व्यवस्थित गर्न नुवाकोटको स्थानीय तहका प्रमुखले आयोगको नुवाकोट कार्यालय समक्ष सम्झौता गर्दैै लक्ष्य र उद्देश्य अनुसार जिम्मेवारी पूरा गर्न सुझाव दिएका छन् ।
किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले ‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन एकाई’ गठन गर्दै निवेदन सङ्कलन, त्यस माथिको छानबिनलगायतका प्रक्रिया पूरा गर्न आफूहरु निष्पक्ष रुपमा लाग्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १० फागुन २०७७, १२ : २७
लेखकबाट थप