बलात्कार अभियुक्त वडाध्यक्ष धरौटीमा रिहा

पत्रपत्रिकाबाट

सोमबार, १० फागुन २०७७, ०७ : ३९
बलात्कार अभियुक्त वडाध्यक्ष धरौटीमा रिहा

भक्तपुर । भक्तपुर जिल्ला अदालतले बलात्कारका अभियुक्त वडाध्यक्षलाई ५१ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले शुक्रबार ३३ वर्षीया महिला बलात्कारको आरोपमा माघ १० मा पक्राउ परेका रामेछाप मन्थली–१० का वडाध्यक्ष भरतबहादुर बोहोरालाई रिहा गर्ने आदेश दिएको हो । अदालतले फागुन १८ मा जाहेरवाला (पीडित) को बकपत्र तोकेको छ ।

वडाध्यक्ष बोहोराले माघ १ मा आफूलाई बलात्कार गरेर फरार भएको भन्दै रामेछाप मन्थली नगरपालिका–११ घर भई मध्यपुर थिमि–३ गठ्ठाघर बस्ने महिलाले महानगरीय प्रहरी वृत्त थिमिमा किटानी जाहेरी दिएकी थिइन् । थिमि प्रहरीले रामेछाप प्रहरीसँगको समन्वयमा रामेछापबाट माघ १० मा बोहोरालाई पक्राउ गरेको थियो ।

पीडित महिलाले अभियुक्त वडाध्यक्षका पत्नीसहितका आफन्तले आफूलाई पटक–पटक जाहेरी फिर्ता गर्न धम्की दिएको बताइन् । ‘पीडक पक्षले न्यायालय किन्छु भनेर धम्की दिएको थियो, किन्यो,’ ती महिलाले भनिन् । यसअघि पनि भक्तपुर अदालतले ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बालिकाका बुबालाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो । अदालतका न्यायाधीश बास्तोलाकै एकल इजलासले छोरी बलात्कारको आरोपमा पक्राउ परेका सूर्यविनायक नगरपालिका–५ मानटोलका ३९ वर्षीय पुरुषलाई माघ ८ मा २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

अदालतले बलात्कारजस्तो जघन्य प्रकृतिका अपराधका अभियुक्तलाई धरौटीमा छोड्ने गरेको पीडितको गुनासो छ । अदालतले भने मिसिलमा संलग्न प्रमाणको आधारमा फैसला गरेको दाबी गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।