विश्व पानी दिवसमा ढुंग्रेखोला सरसफाई

विहीबार, ०८ चैत्र २०७४, २० : ३३
विश्व पानी दिवसमा ढुंग्रेखोला सरसफाई

सौराहा । विश्व पानी दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइएको छ । पानीको उपयोग तथा स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ पानी दिवस मनाइएको हो । दिवसका अवसरमा बिहीबार विभिन्न गैरसरकारी संघसंस्थाले जलाधार क्षेत्रको संरक्षण, पानीको महत्व लगायतका बारेमा चेतना जगाउन विविध कार्यक्रम सम्पन्न गरेका छन् ।
पानी प्राण हो पानी नै जीवन भन्ने मूल नाराका साथ स्थानीय वुद्धिजीवी र सौराहका व्यवसायीहरुले ढुंग्रेखोला सरसफाई गरेका छन् । बढ्दो जनसंख्यासंगै आउँदा दिनमा स्वच्छ पानी र उर्जाको माग विश्वभर अझै बढ्दै जाने र यो वृद्धिले सबै क्षेत्रमा ठूलो चुनौती निम्त्याउन सक्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै आएको  छ ।


विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ देखि मार्च २२ का दिन यो दिवस मनाउने निर्णय गरेको हो ।
यसैबीच, पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल मैत्री समाज र चितवन ग्रीन लायन्स तथा लियो क्लबको आयोजनामा भरतपुरमा स्वच्छता र जागरुकता ¥याली सम्पन्न गरिएको छ ।
जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेय जलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन कार्यक्रम आयोजना गरिएको चितवन ग्रीन लायन्स क्लबका अध्यक्ष दिपकचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा भरतपुर १२ का वडाध्यक्ष नरेन्द्रकुमार कन्दङ्वा, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जाशी, नेपाल मैत्री समाज, लायन्स क्लब, टोल विकास संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
भरतपुर महानगरपालिका १२ वातावरणमैत्री अनुगमन समितिको संयोजन र भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, बोटलर्स नेपाल (तराई) लि, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको सहयोगमा कार्यक्रम गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस