कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

रासस

शुक्रबार, ०७ फागुन २०७७, १२ : २३
कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान दुईरदुई जनासहित उडान भरेका हुन् ।

पर्यटकीय क्षेत्रका लागि नयाँ सम्भावनाको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ्गको उडान परीक्षण गर्न लागिएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनिया थारुले बताए । कावासोती पर्यटकीय दृष्टिले सम्भावनाको क्षेत्र भएकाले यसको परीक्षण थालिएको उनले बताए । नगरपालिकाले पर्यटकीय पूर्वाधार विकासमा समेत लगानी गरिरहेको भन्दै प्याराग्लाइडिङ्गको परीक्षण पूर्णरूपमा सफल भएमा यहाँ पर्यटनको नयाँ सम्भावनाको ढोका खुल्ने उपप्रमुख मर्दनिया थारुले बताए ।

पहिलो दिन आज पाइलट हरि थापाले पहिलो उडान गरेका थिए। बालुवाडाँडाबाट गरिएको उडानको कावासोती–१ मा रहेको पोखरीतालमा सफल अवतरण गरिएको हो । बालुवाडाँडा क्षेत्रमा हावाको बाहव, उडान र अवतरण क्षेत्र सबै दृष्टिले प्याराग्लाइडिङको लागि उपयुक्त रहेको प्राविधिक एवं पाइलट हरि पहारी बताए । प्याराग्लाइडिङको लागि बालुवाडाँडा उत्कृष्ट स्थान बन्न सक्ने सम्भावना रहेको पहारीले बताए । बालुवाडाँडाको ९२७ मिटर उचाइबाट उडान भरिएको थियो ।  

कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले अवतरणस्थल पोखरी ताल पुगेर पाइलट दललाई स्वागत गरेका थिए । सो क्रममा नगर प्रमुख पुनले कावासोती नगरपालिकामा पर्यटकीय दृष्टिले हरेक सम्भावना रहेको भन्दै योजना अगाडि बढाउने युवालाई धन्यवाद व्यक्त गरे । कावासोती नगरपालिकाले समेत पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्दै आएको बताउँदै यसको थप व्यवस्थापनमा समेत लागि पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस