पाकिस्तानी राजदूतद्वारा चितवनको आँखा अस्पतालको निरीक्षण

रासस

विहीबार, ०६ फागुन २०७७, १५ : ०७
पाकिस्तानी राजदूतद्वारा चितवनको आँखा अस्पतालको निरीक्षण

चितवन । पाकिस्तानी राजदूत सैयद हैदर शाहले चितवनस्थित भरतपुरको आँखा अस्पतालको निरीक्षण गरेका छन् । नेपालका लागि पाकिस्तानी राजदूत शाहले निरीक्षणको क्रममा भरतपुर आँखा अस्पताललाई विगतमा दिइँदै आएको सहयोग निरन्तर रहने बताए । उनले अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।  

सो अवसरमा राजदूत शाहले अस्पतालले निर्माण गर्न लागेको नयाँ भवनमा पनि सहयोग गर्ने जानकारी दिए । उनले भने, ‘नयाँ भवनको विस्तृत विवरणसहितको प्रस्ताव पठाउनुहोस्, अध्ययनपछि के सहयोग गर्न सकिन्छ, हामी गर्छौ ।’ आँखा उपचार जस्तो महत्वपूर्ण सेवा अस्पतालले उपलब्ध गराउँदै आएकोमा उनले प्रशंसासमेत गरेका थिए ।  

कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, जिल्ला सभापति कृष्णराज धरेल, अस्पतालका प्रमुख मेडिकल निर्देशक प्रा डा रघुनन्दन बेन्जु, अस्पतालका व्यवस्थापक दयाशङ्कर चौधरीलगायतले अस्पतालले हालसम्म गरेका कार्य र आगामी दिनका योजनाबारे बताएका थिए । 

 सो अवसरमा अस्पतालका डा रञ्जित साहले अस्पतालको अवस्थाका बारेमा प्रस्तुतिकरण दिएका थिए । राजदूत शाहले अस्पतालका विभिन्न विभागको निरीक्षणसमेत गरे ।  पाकिस्तानमा मुख्य कार्यालय रहेको बिसिसिआई बैंकले भरतपुर आँखा अस्पततालको स्थापनाको समयमा मुख्य भवन निर्माण निर्माण गर्न तत्कालीन समयमा रु ८४ लाख सहयोग गरेको थियो ।

 विभिन्न समयमा उपकरणसमेत सहयोग गर्दै आएको छ । पाकिस्तानी दूतावासले अस्पताललाई प्रत्येक वर्षजसो आर्थिक सहयोग गर्दै आएको छ । अस्पतालको शल्यक्र्रिया थिएटर बनाउन दूतावासले रु ७२ लाख सहयोग दिएको छ । उक्त रकम सुरक्षित रहेको अस्पतालका अध्यक्ष धरेलले जानकारी दिए। यस्तै चम्मा पसल निर्माण गर्न ३६ लाख र फेको मेसिनलगायतका उपकरण पनि दूतावासबाट सहयोग प्राप्त भएको उनले जानकारी दिए ।
उनका अनुसार हालसम्म विभिन्न समयमा गरेर पाकिस्तानी दूतावासबाट रु दुई करोडभन्दा बढी सहयोग प्राप्त भइसकेको छ । अस्पतालले आर्थिक वर्ष सन् २०१८ र १९ मा दुई लाख सात हजार ६७६ जनालाई सेवा दिएको थियो भने सन् २०१९ र२०२० मा एक लाख ६३ हजार १४८ बिरामीलाई सेवा दिएको छ । अस्पतालले अस्पताल, अस्पतालद्वारा सञ्चालित आँखा सेवा केन्द्र र विभिन्न ठाउँमा शिविर सञ्चालनन गरी आँखाको उपचार गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस