चितवन । राजधानी बाहिरको ठूलो भरतपुर अस्पतालमा छोटो समयमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन भइरहँदा काम कारवाही प्रभावित भएका छन् । गत भदौयता अस्पतालमा तीन मेसु परिवर्तन भइसकेका छन् ।
अस्पतालबाट विसं २०७७ भदौ २८ गते डा श्रीराम तिवारी सरुवा भएसँगै डा राजन पाण्डे प्रमुख मेसु भएर आउनुभएको थियो । मङ्सिर ८ गते उहाँले राजिनामा दिनुभयो । अस्पतालका प्रवक्ता डा युवानिधि बसौलाका अनुसार मङ्सिर ९ गते डा जगन्नाथ तिवारीलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको थियो । तीन महिना नपुग्दै डा वासुदेव पाण्डेलाई मेसुको जिम्मेवारी दिइएको छ ।
बसौलाका अनुसार उहाँले आजदेखि कार्यभार सम्हाल्नुभएको छ । आगामी वैशाख ५ गते उमेर हदका कारण उहाँको अनिवार्य अवकाश हुने बताइएको छ । त्यसपश्चात् पुनःअर्को मेसु बनाउनुपर्ने हुन्छ । डा तिवारी एक वर्ष तीन महिना काम गरेर सरुवा हुनुभएको थियो । त्यसअघि पनि अस्पतालमा डा विश्वबन्धु बगालेले ४५ दिन, डा रवीन खड्काले चार महिना र डा कृष्ण पौडेलले आठ महिना मेसुको जिम्मेवारी बहन गर्नुभएको अस्पतालले जनाएको छ ।
पौडेल अगाडि डा रुद्र मरासिनीले भने २८ महिना प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रुपमा रहेर काम गर्नुभएको थियो । तत्कालीन समयमा अस्पताल विकास समितिको अध्यक्ष रहनुभएका हाल वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी प्रमुखको स्थायित्व नहुँदा संस्थाले प्रभावकारीरुपमा काम गर्न नसक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कम्तीमा दुई वर्ष काम गर्न नपाए योजना बनाएर कार्यान्वयन गर्न सकिन्न ।” यसले गर्दा अस्पतालले गर्नुपर्ने जति विकास गर्न नसक्ने उहाँको भनाइ छ । आफूले सम्बन्धित मन्त्रालयमा सुझाव दिएको सुवेदीले जानकारी दिनुभयो ।
दिगोरुपमा काम गर्ने वातावरण नहुँदा जिम्मेवारी पाएकाको आत्मबल उच्च बनाउन नसकिने उहाँको बुझाइ छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी छोटो समयमा मेसु परिवर्तन हुँदा समितिले गरेका निर्णय कार्यान्वयन हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामी निर्णय गर्छौं तर कार्यान्वयन हुन सकेको छैन ।” नयाँ आउने प्रमुखको बुझ्न नपाउँदै सरुवा हुँदा अस्पतालका धेरै काम रोकिएको उहाँको भनाइ छ ।
अस्पतालभित्र भौतिक संरचना निर्माण र अन्य नियमित कामसमेत प्रमुख परिवर्तन हुँदा प्रभावित हुने गरेको छ । अधिकारीको भनाइमा चिकित्सक, कर्मचारीले गर्ने काम पनि प्रमुख परिवर्तन भइरहँदा प्रभावित हुने गर्दछ । यो अस्पताल दुई वर्षअघि सङ्घीय अस्पताल बनेको हो ।
छ सय श्यया रहेको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले प्रत्यक्षरुपमा सेवा लिने गरेका छन् । सडक सञ्जालले जोडिएका कारण दुर्घटनाका घाइतेदेखि विभिन्न खालका रोगका बिरामीको उपचारको गन्तव्य यस अस्पतालमा हुने गरेको छ । प्रसूतिलगायतका सेवामा देशकै उत्कृष्ट मानिने यस अस्पतालले कोभिड उपचारको यस क्षेत्रको नेतृत्वसमेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ फागुन २०७७, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
भरतपुर अस्पतालले बिमाको रकम नपाउँदा उपचारमा समस्या
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट
चितवनमा चिसोका बिरामी बढे, सावधानी अपनाउन आग्रह
भरतपुर अस्पतालमा टोकन प्रणाली सुरु, भीड व्यवस्थापन सहज