दोलखा । भूमिसम्बन्धी समस्याको सामधान गर्न सरकारले हालै गठन गरेको भूमि समस्या सामधान आयोग दोलखाका अध्यक्ष धमेन्द्र मोक्तानले आज पदभार ग्रहण गरेका छन् । मोक्तान सो पदमा केही दिनअघि नियुक्ति हुन्।
मोक्तानलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे र प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले पदभार ग्रहण गराएका थिए । पदभार ग्रहण गर्दै अध्यक्ष मोक्तानले दोलखामा भूमिसम्बन्धी देखिएको सबैखाले समस्यामा छलफल र समन्वय गरी आफ्नो कार्यकालमा समाधान गर्ने बताए ।
दोलखाको सबै स्थानीय तहमा जग्गासम्बन्धी सीमा विवाद, सार्वजनिक जग्गाको विवाद, वनको जग्गाको विवाद, गुठीसम्बन्धी जग्गाको विवादहरू रहेको र ती विवादलाई नापी, मालपोत, वन तथा सम्बन्धित निकायसँग आफूले छलफल र समन्वय गरी समाधान गर्ने अध्यक्ष मोक्तानले बताए ।
जिल्लामा अन्य समस्या धेरै भए पनि सुकुमवासीसम्बन्धी समस्या खासै नभएको र सुकुम्वासीको हकमा एक महिनाभित्र लालपुर्जा पाउने गरी काम गर्ने उनले बताए । भूमिसम्बन्धी समस्याको समाधन गर्न आयोगको दोलखामा नियुक्त भएका विज्ञ सदस्य बद्रि बुढाथोकी र सदस्य गोमा केसीले पनि आजै पदभार ग्रहण गरेका छन्।
दोलखामा भूमि समस्या समाधानका लागि आयोगको कार्यालय स्थापना भएसँगै विवाद समाधान हुने अपेक्षासहित नागरिक खुशी भएका छन् । जिल्लाका सात गाउँपालिका र दुई नगरपालिका रहेको सबै स्थानीय तहमा जग्गासम्बन्धी विवाद रहँदै आएको छ । सबै स्थानीय तहमा विभिन्न किसिमको ३५ देखि ४० ठाउँमा भूमिसम्बन्धी समस्या रहेको जिल्ला समन्वय समिति दोलखा प्रमुख पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ फागुन २०७७, १४ : ४१
लेखकबाट थप