विकट गाउँमा फोर जी सेवा

रासस

बुधबार, ०५ फागुन २०७७, १३ : १२
विकट गाउँमा फोर जी सेवा

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ । 
     
कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीका अनुसार सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दूधकोशी गाउँपालिकाको काङ्गेलमा सो सेवा सञ्चालन भएको हो ।

यस्तै सोलुदूधकुण्ड नगरपालिकाको सल्लेरी, फाप्लु र खुम्बु पासाङल्हामुको स्याङबोचेमा यसअघि नै यस किसिमको सेवा सञ्चालन भइसकेको टेलिकमले जनाएको छ । क्याम्जे, डाँडाखर्क र गुदेलमा पनि केही दिनभित्रमा सेवा सञ्चालन गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख पन्थीको भनाइ छ ।
 
उता छिमेकी जिल्ला खोटाङमा २८ वटा फोर लेग टावरमध्ये चार वटा सञ्चालनमा आएको छ । जिल्लाको दिक्तेल, रुपाकोट र मझुवागढी नगरपालिकाअन्तर्गत देवीस्थान, दिक्तेल बजार र खोटेहाङ गाउँपालिकाको सिमपानी र जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा सेवा सञ्चालन भएको छ ।
     
यस्तै केपिलासगढीको बाक्सिला, हलेसी तुवाचुङको च्यास्मिटार, दिक्तेल रुपाकोटको बाम्राङ, बुइपा, दोर्पाआले, दिप्रुङको बतासे, डाँडागाउँ, साकेला गाउँपालिकाको बाँझेच्यान डाँडा र मात्तिम विर्तामा २० दिनभित्रमा सेवा पुनः सञ्चालन हुने गरी काम भइरहेको बताइएको छ । 
 

यता  ओखलढुङ्गा जिल्लामा पनि फोर जी सेवा सञ्चालन भएको छ । कूल २५ वटा फोर लेग टावरमध्ये छ वटाबाट फोर जी सेवा सञ्चालन भएको टेलिकम शाखा कार्यालयले जनाएको छ । सिद्धीचरण नगरपालिकाको वीरेन्द्र पार्क, तलुवा, ओखलढुङ्गा बजार, कमेरेडाँडा, रुम्जाटार र मोलुङ गाउँपालिकाको रामपुरमा सेवा शुरु भएको हो । साथै अन्य टावरमा एन्टिना राख्ने कामसँगै लिङ्क मिलाउने काम भइरहेको पन्थीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस