ओली सरकारमा पूर्वमाओवादी खेमाका मन्त्री जोक्करजस्तै

सफल खबर संवाददाता

आइतबार, ०२ फागुन २०७७, ०८ : ३४
ओली सरकारमा पूर्वमाओवादी खेमाका मन्त्री जोक्करजस्तै

काठमाडौं । केपी ओली नेतृत्वको पार्टी र सरकारमा पूर्वमाओवादी तर्फका नेताहरु जोक्कर बन्न पुगेका छन् । न उनीहरुले सरकारमै रहेर आफना स्वविवेकी निर्णय गर्न सक्छन्, न पार्टीमै उनीहरुले भनेका कुनै कुराको सुनुवाई नै हुन्छ । यस अर्थमा पनि ओलीतिर लागेका पूर्वमाओवादी नेताहरु गृहमन्त्री रामबहादुर थापादेखि दावा तामाङसम्म अहिले जोक्कर जस्तो मात्रै बन्न पुगेका छन् ।

पूर्वमाओवादी समूहका गृहमन्त्री रामबहादुर थापा (बादल) सरकारमा टिकिरहने र पाएको पद किन गुमाउने भन्ने अवसरवादी सोचका साथ प्रधानमन्त्री ओलीको पक्षमा खुले । अघिल्लो दिनसम्म ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम नै भएको बताएका बादलले ओलीतिर लाग्ने बित्तिकै त्यसलाई अग्रगमन भन्न थाले । तीन वर्ष सरकारमा रहँदासम्म आफनो पूर्वसमूहका नेता कार्यकर्ता व्यवस्थापनमा कुनै चासो र चिन्ता नदेखाएका उनी अन्तिममा ओलीतिर लाग्दा मन्त्री बनाएर दावालाई मात्र लान सफल भए । अन्य उनलाई उनकै राजनीतिक सल्लाहकारसम्मले साथ दिएनन् ।

सिपाही बिनाका जर्नेलको उपमा पाउँदै ओलीतिर खुल्न पुगेका बादललाई त्यसपछि ओलीले टेर्न छोडे । सुरुमा आफूपछिको दोस्रो वरियता दिने आश्वासन दिए पनि उनले ओलीको पार्टीमा त्योस्तरको दर्जा नै पाएनन् । अर्थात् उनलाई अहिले तेस्रो स्थान मै चित्त बुझाउन परेको छ । बाहिरी रुपमा उनको पदीय वरियता तेस्रो देखिए पनि उनी खासमा छैटौं स्थानमा रहने गरी ओलीले ब्यवहार देखाइदिन थालिसकेका छन् ।

ओलीले आफूपछि ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेललाई राखेर त्यसपछि मात्र बादलको नाम लिन थालिसकेका छन् । नेकपाको बहुमत पक्षले ओलीलाई कारवाही गरेपछि ओलीले आफनो गुटअनुसार पार्टी सञ्चालनको अभ्यास गर्न खोजेका छन् । त्यही क्रममा प्रचण्ड नेपालतिर लागेका पदाधिकारीलाई हटाउँदै ओली पक्षले देशब्यापी संगठन पुनर्गठन गर्न थालेका छन् । तर यो क्रममा बादल र पूर्वमाओवादी समूहका अन्य कुनै नेतालाई कुनै स्थान नै दिएका छैनन् । जसकाकारण पनि ओलीरित लागेका पूर्व माओवादी नेताहरु जोक्कर मात्रै बन्न पुगेका हुन् । अहिले उनीहरुमा बेकार ओलीतिर लागिएछ भनेर भित्री रुपमा छलफल शुरु हुन थालिसकेको स्रोतले बताएको छ ।

बादलले आफ्ना समूहका सबैजसो नेता प्रचण्ड नेपालतिर खुलेपछि र एक्लो जर्नेल मात्र ओलीतिर लागेको आरोप लागेपछि त्यसलाई क्रश गर्न निष्किय रहेका पूर्व माओवादी समूहका नेताहरुको खोजी गरेर आफूतिर तान्ने प्रयास गरे । कहिल्यै सक्रिय नहुने बादल त्यसपछि आफनो टिम निर्माण गर्न निष्किय रहेका, विप्लव छोडेर बसेका देखि अन्य कतिपय पूर्वमाओवादी समूहमा रहेका सम्मलाई खोजी –खोजी आफूतिर केन्द्रीत गर्न सक्रिय हुन थाले । तर उनले आफूसँग लान खोजेका लाई अनेक पदीय आश्वासन दिएका थिए । सरकारी नियुक्ति पनि दिने आश्वासन दिएका थिए ।
बादलले देवी खड्काका श्रीमान रहेका सिन्धुपाल्चोकका पूर्वसांसद राजकुमार श्रेष्ठलाई ओली पक्षको बागमती प्रदेशको सचिव बनाउने आश्वासन दिएका थिए । केही समयदेखि राजनीतिवाट टाढा रहेको र खेतीपातीतर्फ लागिरहेका श्रेष्ठलाई बादलले प्रदेश सचिव आफ्नो कोटाबाट बनाउने गरी फेरि राजनीतिमा तान्न खोजेका थिए । तर बादललाई सुइको समेत नदिई ओली पक्षले कमिटी फर्मेसन गरिदियो । बादल पक्ष हेरेको हेरै भएको छ । बादलले सरकारले ७७ वटा जिल्लामा गठन गरेको भूमि आयोगमा आफनो तर्फबाट कम्तीमा १ जना प्रत्येक जिल्लामा आफ्नो भागमा पर्ने ठानेका थिए । आफूतिर आउनेलाई उनले त्यही अनुसारको कतिपयलाई आश्वासन पनि दिएका थिए ।

तर यसमा पनि ओलीले बादललाई गनेनन्, पुछेनन् । बादल मात्रै होइन अन्य पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह र दावा तामाङको हालत पनि उस्तै छ । युवाहरुको संगठनमा त विवाद उग्र भएपछि बादलका स्वकीय सचिवसमेत रहेका बिरु तामाङ (सुदीप)ले भेला नै बहिष्कार गर्नु परेको थियो । ओली खेमामा लागेका पूर्वमाओवादी धारका नेताहरु अहिले ओली खेमामा यता न उताको अवस्थामा पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस