भागरथीको हत्यामा कुकुरले दियो यस्तो सङ्केत : खोचलेक बजारसँग अपराधीको कनेक्सन

सफल खबर संवाददाता

शनिबार, ०१ फागुन २०७७, १६ : २८
भागरथीको हत्यामा कुकुरले दियो यस्तो सङ्केत : खोचलेक बजारसँग अपराधीको कनेक्सन

बैतडी । भागरथी भट्टको बलात्कारपछि हत्या भएको आज शनिबार ११ दिन पुग्यो । तर, अझै प्रहरीले अपराधीको सुइँको समेत पाएको छैन । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथीको हत्यारालाई पक्राउ गर्न प्रहरीलाई थप दबाब परेको छ । घटनास्थलको प्रकृति, घटनाको भोलिपल्ट परेको पानी र अपराधीले गरेको केही चलाखीका कारण घटना झन्–झन् पेचिलो बन्दै गइरहेको छ, कता निर्मलाको नियति दोहोरिने होकि भन्ने डर सदैव छाइरहेको छ । 

भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर अपराधी खोज्न प्रयोग गरियो । प्रहरी अपराधीको घरसम्म पुगेन बाटैमा रुमलियो । प्रहरीले भने कुकुरले देखाइदिएको बाटोले केही सङ्केत गरेको र अनुसन्धान साँघुरो बन्दै गइ्रहेको दावी गरेको छ । 

ककुर धेरैबेर घटनास्थलको वरिपरी घुमिरह्यो । कुकुर त्यसपछि बिस्तारै जंगलको बाटो पूर्वतर्फ अगाडि बढ्यो । करिब ८ सय मिटर जंगलको बाटो पछ्याएपछि तालिमप्राप्त कुकुर कच्ची सडकमा आइपुग्यो । कुकुर आइपुगेको स्थान घटनास्थलबाट पूर्वतर्फ अर्थात् खोचलेक बजारतर्फ पर्छ । तर कुकुरले त्यसपछि कुनै भेउ पाउन सकेन । कच्ची सडकबाट कुकुरले भेउ नपाएपछि अपराधी मोटरसाइकल वा अन्य कुनै सवारीसाधन चढेर गएको हुनसक्ने प्रहरीको अनुमान छ । 

आफ्नो घरबाट करिब १ घण्टाको पैदल दुरीमा पर्ने स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । विद्यालयबाट घर फर्किँदा ५ मिनेटको पैदल दुरीमा खोचलेक बजार पर्छ । बजारबाट केही उकालो जङ्गलको बाटो हिँडेपछि माथि डाँडामा पुगिन्छ र केही वर्ष अघिमात्रै खनिएको हल्का उकालो कच्ची सडक पार गर्दै भागरथीको घर पुगिन्छ ।

घर जाने बाटोमै पर्छ लवलेक जङ्गल, जुन स्थानमा भागरथीका शव माघ २२ गते साँझ फेला परेको थियो । विद्यालयबाट करिब आधा घण्टाको पैदल दुरीमा पर्ने घटनास्थल र कुकुरले गरेको सङ्केतको एउटा तथ्य के हो भने कुनै न कुनै रुपमा अपराधी बजारबाटै गएको वा अपराध गरेपछि पुनः बजारतर्फ नै फर्किएको छ ।

अपराध हुनुभन्दा अगाडिको घटनाक्रमलाई हेर्ने हो भने भागरथी उक्त दिन पौने २ बजे पढाई सकेर विद्यालयबाट घरतर्फ फर्किएकी छिन् । बाटोमा पर्ने खोचलेक बजारसम्म सहपाठी तथा गाउँकै भाइ भानदेव भट्टसँगै गएकी थिएन् । तर भानदेवले स्थानीय सैलुनमा कपाल काट्ने भनेपछि भागरथीले बजारको पसलबाट एक प्याकेट चाउचाउ किनेर घरतर्फ एक्लै अगाडि बढेकी थिइन् । घटनाक्रमलाई हेर्दा खोचलेक बजारबाट भागरथी एक्लै आफ्नो घरतर्फ लाग्नु, बाटोमा कोही नहुनु र अपराध गरेपछि अपराधी पुनः खोचलेक बजारतर्फ फर्कनुले अपराधमा खोचलेक कनेक्सन कुनै न कुनै तबरले जोडिएकै छ । 

प्रतिक्रिया दिनुहोस