निर्वाचन आयोगका प्रमुखलाई प्रधानमन्त्रीको धम्की : जागिर खान मन भए मेरो पक्षमा निर्णय गर्नु

सफल खबर संवाददाता

शनिबार, ०१ फागुन २०७७, १२ : ५४
निर्वाचन आयोगका प्रमुखलाई प्रधानमन्त्रीको धम्की : जागिर खान मन भए मेरो पक्षमा निर्णय गर्नु

file photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई जागिर खान मन भए मेरो पक्षमा निर्णय गर्नु होइन भने राजीनामा दिएर हिँड्नु भनी धम्की दिएका छन् । 

स्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त थपलियाले कानून, संविधान र प्रचलित व्यवस्था हेर्ने हो भने प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा नै खास रुपमा आधिकारिक हुने र रहेको बताएका थिए । गत मंगलबार तामझामका साथ आयोग पुगेका ओलीले थपलियालाई भनेका थिए, ‘म अरु कुरा जान्दिनँ । मेरो पक्षमा जसरी भएपनि निर्णय गर्नुपर्छ । म बहुमत, अल्पमतको कुरा जान्दिनँ ।’ 

उनले प्रमुख निर्वाचन आयुक्त बनाएको मैले हो भन्दै आफ्नो पक्षमा निर्णय गर्न भनेका थिए । उनले आफनो पक्षमा निर्णय नभए, त्यसपछिको अवस्था के कस्तो आउँछ, त्यसको समेत जिम्मेवारी लिन भन्दै थपलियालाई धम्क्याएको बैठकमा सहभागी एक आयुक्तले जानकारी दिए । 

निर्वाचन आयोगसँग छलफल गर्न पुगेका ओली हान्ने राँगो जसरी प्रस्तुत भएका थिए । उनले आफू कानून नजान्ने, विधि नमान्ने र संविधानमा नभएको व्यवस्था प्रयोग गरेर नै निर्वाचन घोषणा गरेका कारण आफूलाई अरु कुरा थाहा नभएको भन्दै जसरी भएपनि आफनो पक्षमा निर्णय गर्न, सूर्य चिन्ह आफूलाई दिन र नेकपा नै आफू भएको दलिल पेश गरेका थिए । 

प्रधानमन्त्री ओलीसँग आयोग गएका उपप्रधानमन्त्रीको हैसियतमा रहेका ईश्वर पोखरेलले पनि ठूला कुरा गरेका थिए । कानूनी पाटो मात्रै भनेर बोल्न थालेका सुवास नेम्वाङले लामै लेक्चर दिएपछि ओलीले तिमी चुप लाग नै भन्नु परेको थियो । 

ओलीका कानूनी सल्लाहकार भनिएका बाबुराम दाहालले त आफनो हैसियत नै भूलेर निर्वाचन आयोगका पदाधिकारीलाई तिमी भन्दै सम्बोधन गरेका थिए । एक आयुक्तका अनुसार कस्ता मान्छेलाई ओलीले सल्लाहकार बनाएका होलान्, उमेरमा हामी नै धेरै जेठा छौ, त्यो सल्लाहकार भनिने बाबुरामले त हैसियत नै बिर्सेर हामीलाई समेत तिमी पो भन्यो त । ओलीले त आयोगलाई आफूले अध्यादेश ल्याउने तयारी गरेको बताएका थिए । आधिकारिकता नपाउने अवस्थामा पूर्वएमाले व्यूँताउन नै भएपनि अध्यादेश समेत ल्याउने उनको भनाइ थियो । कूल ४४१ सदस्यीय नेकपाको केन्द्रीय समितिमा उनको पक्षमा मात्रै ९० जना रहेकाले स्वतः उनी दलविहीन अवस्थामा पुग्नेछन् । 

दलविहीन भएपछि ओली गिरोहमा लागेकाले स्वतन्त्र हैसियतमा मात्रै निर्वाचन लड्न पाउँछन् । सोही डरका कारण ओलीले जसरी भएपनि आफूलाई कानूनी मान्यता दिन प्रमुख निर्वाचन आयुक्तलगायतलाई थर्काएको हुनसक्ने स्रोतको दावी छ । स्रोतका अनुसार ओलीले आयेगलाई आफू पहिलो नम्बरको अध्यक्ष भएको बताए । उनले आफ्नो हस्ताक्षरमात्रै आधिकारिक हुने समेत जिकिर गरेका थिए । 

पछिल्ला दिनमा उनको पक्षमा लागेका भनिएका पनि मूल घरमा फर्कने तयारी गरेका छन् । त्यसो भएको खण्डमा त ओलीको पक्षमा ५० जना पुग्न पनि मुस्किल पर्ने देखिन्छ । नेकपाको मूल संस्थापन पक्षले तत्काल आधिकारिताको निर्णय गर्न र बहुमत सदस्यको सनाखत गराउन आयोगसँग आग्रह गरेको छ । त्यसो भएको खण्डमा नेकपाको मूल पार्टी नै आधिकारिक भएको पुनः पुष्टि हुनेछ । त्यसबाट खड्ग ओलीको काइते काम समेत खारेज हुनेछ र उनी दलविहीन अवस्थामा पुग्नेछन् । 

प्रतिक्रिया दिनुहोस