पूर्वमाओवादी नेताहरुले बार्गेनिङ गर्न थालेपछि ओली पक्षलाई अप्ठ्यारो

सफल खबर संवाददाता

शनिबार, ०१ फागुन २०७७, ११ : २०
पूर्वमाओवादी नेताहरुले बार्गेनिङ गर्न थालेपछि ओली पक्षलाई अप्ठ्यारो

file photo

काठमाडौं । पूर्वमाओवादीबाट गएकाहरुले सम्मानजनक स्थान खोज्न थालेपछि केपी ओली पक्ष रुष्ट बनेको छ । विश्वस्त श्रोतका अनुसार, पूर्व माओवादीका नेताहरुले प्रचण्डलाई छोड्नुको अर्थ विलय र आत्मसमर्पण नखोजेको बरु संगठनमा सम्मानजनक उपस्थिति खोजेको भन्दै ‘बार्गेनिङ’ गर्न थालेपछि ओली पक्षलाई अप्ठ्यारो परेको हो । 

“एक त बादललाई केपी कमरेडपछिको नेता मान्नुपर्ने, अर्कोतर्फ त्यही बादलका मान्छेहरु बार्गेनिङ गर्ने ?” केपी ओली निकट एक स्थायी समितिले सफल खबरसँग भने, ‘जिल्लादेखि केन्द्रसम्म यसरी भाग खोज्न थालेपछि उनीहरु हामीलाई किन चाहियो ? बस्ने भए हामी मातहत बस्नुपर्यो, भागै खोज्नेभए प्रचण्डकहाँ फर्के हुन्छ ।”

प्रधानमन्त्री केपी ओलीले समेत पूर्व माओवादीका नेताहरुले बढी किचकिच गर्न खोजे फिर्ता पठाइदिने धम्की दिन थालेका छन् । केही दिनअघि केपी ओलीसँग भेट्न गएको एक प्रतिनिधिमण्डलसँग केपी ओलीले पूर्व माओवादीका नेताहरुका कारण आफ्नै समर्थकहरु बिच्किन थालेको गुनासो गरेका थिए । “लेखराज र उनीसँग आएका मान्छेहरुले खासै किचकिच गरेका छैनन् ।” ओलीको भनाई उद्दृत गर्दै केपीसँग भेट गरेका ती नेताले भने, ‘तर अरु नेताहरुले भने त्यतिखेर प्रचण्डको रिसले निशर्त समर्थन गर्ने अहिले आएर अनावश्यक बार्गेनिङ गरे । मलाई कोही नभएपनि हुन्छ, म एक्लै पार्टी हाँक्न सक्छु ।”

केपी पक्षले शुरुमा बिभिन्न पद र प्रलोभन दिएर पूर्व माओवादी र माधव नेपाल पक्षका कतिपय नेता तथा कार्यकर्तालाई केन्द्रीय सदस्य बनाएपनि पछिल्लो समयमा प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना बढ्दै गएपछि र भूमि आयोगलगायतमा नियुक्ति गर्ने सन्दर्भममा केपी निकटको सिफारिसका आधारमा पूर्व सहमति विपरीत नियुक्ति भएपछि आन्तरिक किचलो झनै चुलिएको छ । 

केपीलाई समर्थन गर्न पुगेको पूर्व माओवादी निकट र केपीले केन्द्रीय सदस्य बनाएका एक नेता भन्छन्, ‘केपीलाई समर्थन गरेको दुई हप्ता नबित्दै त यसरी पेलिरहेका छन् भने भोली चुनावसम्म पुग्दा त के होला भन्ने चिन्ता छ । कतिपय साथीहरु अहिले यता भएपनि सबै असुरक्षित भएका छन् ।”

‘केपीवालाहरुको पारा देखेर यता बस्न त फिटिक्क मन छैन तर उताकाले पनि हामीलाई झन होच्याउन थालेपछि संकटमा परेका छौं” एक पूर्व माओवादी जिल्ला अध्यक्षले भने,  ‘तर यता बस्ने पनि अवस्था छैन, हेरौं, केही समयपछि के हुन्छ ?”

यतिखेर सुदूरपश्चिममा लेखराज भट्टका समर्थकहरुमध्ये कतिपयले केपीलाई पूर्णरुपमा समर्थन गरेपनि बादल, टोपबहादुरलगायतका नेताहरुका समर्थक भने अहिले केपी छोड्नुपर्ने लबिङमा लागेका छन् । 

त्यसो त नेता लेखराज भट्ट निकटमध्ये कतिपयले केपी पक्ष छोडिसकेको अवस्था छ । कतिपयलाई तत्कालको लाभ र विगतका कतिपय मुद्दा बल्झिने डरले केपीको साथ दिनुपर्ने बाध्यता भएपनि ढिलोचाँडो मूलधारमा नै फर्किने प्रचण्ड–माधव समूहका नेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस