रिट निवेदक र विपक्षीको बहस सम्पन्न, अबको प्रक्रिया के ?

पत्रपत्रिकाबाट

शुक्रबार, ३० माघ २०७७, ०७ : ३४
रिट निवेदक र विपक्षीको बहस सम्पन्न, अबको प्रक्रिया के ?

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा विपक्षीतर्फबाट सबै कानुन व्यवसायीले आफ्नो प्रतिरक्षा बहस सकेका छन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली तथा सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायीहरूले बहस सकेका हुन् । अब आइतबारदेखि बहसमा उठेका प्रश्नमा निवेदकका तर्फबाट जवाफ दिइने छ ।

जवाफपछि अदालतको आदेशअनुसार नेपाल बार र सर्वाेच्च अदालत बार एसोसिएसनबाट सिफारिस भएका एमिकस क्यूरीले इजलासलाई राय दिने क्रम सुरु हुनेछ । इजलासले १३ निवेदनका निवेदकहरूलाई समन्वय गरेर बढीमा पाँच जनाले जवाफ दिन आग्रह गरेको छ ।

यद्यपि बिहीबार इजलासमा उक्त विषयमा सहमति भएन । सबै निवेदकले जवाफ दिने आसय जनाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्यसलाई अस्वीकार गरेका थिए । अन्य न्यायाधीशहरूले पनि आपसमा समन्वय गरेर सङ्ख्या तय गर्न आग्रह गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस