गणतन्त्रवादी र लोकतन्त्रवादी  एकताबद्ध हुनु जरुरी छ : महासचिव वैद्य

रासस

विहीबार, २९ माघ २०७७, १९ : ३२
गणतन्त्रवादी र लोकतन्त्रवादी  एकताबद्ध हुनु जरुरी छ : महासचिव वैद्य

file photo

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । 

राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज आयोजित चार कम्युनिष्ट पार्टीले आयोजना गरेको रणनैतिक मोर्चा घोषणासभामा बोल्दै उहाँले देशमा जनताको शासन आवश्यक भएको बताउनुभयो । क्रान्तिकारी कम्युनिष्ट घटक पुनः एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जनगणतन्त्र र समाजवाद स्थापना अझै बाँकी रहेको उल्लेख गर्नुभयो । 

स्वाधिनताको रक्षा र जनताको हकका लागि लड्न संयुक्त मोर्चाको आवश्यकता रहेको र त्यसैको प्रयास भइरहेको वैद्यले स्पष्ट पार्नुभयो । धेरैले आफूलाई कम्युनिष्ट भन्दै आए पनि देशमा सच्चा कम्युनिष्ट थोरै रहेको महासचिव वैद्यले बताउनुभयो । उहाँले नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न सरकारसँग माग गर्नुभयो । विप्लवमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने उहाँको भनाइ थियो । 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नयाँ चिन्तनका साथ कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनु जरुरी रहेको बताउनुभयो । जनतालाई एकताबद्ध गरी जनताकै शासन स्थापना गर्नतर्फ आफूहरुको मोर्चा अग्रसर रहेको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतिले जनताले परिवर्तनको आभास नपाएकाले नयाँ क्रान्ति आवश्यक भएको बताउनुभयो । संसद् पुनःस्थापना गरेर मात्र परिवर्तन सम्भव नहुने उहाँको भनाइ थियो ।

सो अवसरमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले रणनैतिक मोर्चाको अवधारणा र संरचना सम्बन्धि दस्तावेज पारित गर्दै १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरिएको जानकारी गराइएको थियो । मोर्चाले पहिलो चरणको कार्यक्रम अन्तर्गत आगामी फागुन ६ गते रुपन्देहीको बुटवलमा, फागुन १४ गते कैलालीको धनगढीमा तथा फागुन १८ गते सुनसरीको इटहरीमा जनसभा गर्ने भएको छ ।