‘मुखाले’ प्रधानमन्त्री ! विश्लेषक भन्छन्– महापञ्चको शैली

विहीबार, २९ माघ २०७७, ११ : ३२
‘मुखाले’ प्रधानमन्त्री ! विश्लेषक भन्छन्– महापञ्चको शैली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उखान टुक्कामार्फत् अभिव्यक्ति दिएर हसाउन माहिर छन् । विरोधीलाई क्षणका क्षण वचनले तह लगाउने उनको शैली केही समयअघि सम्म राजनीतिक वृत्तमा लोकप्रिय थियो । र, उनको प्रत्युत्पन्न ‘मति’लाई मुक्तकण्ठले प्रशंसा गर्नेहरू थिए ।

तर, अहिले प्रधानमन्त्रीको वाकपटुताले ‘मुखाले’को दर्जा पाएको छ । राजनीतिक विश्लेषकहरू प्रधानमन्त्रीको विरोधी लक्षित अभिव्यक्ति व्यञ्जनालाई ‘दुमुर्खा’को उपमा दिन थालेका छन् । 

प्रधानमन्त्री ओलीले पुस ५ गते हठात्रूपमा संसद् विघटन गरिदिएपछि सत्ताको नेतृत्व गरिरहेको नेकपा छिन्नभिन्न हुन पुग्यो । त्यसयता प्रदर्शन–सभाको प्रतिस्पर्धामा उत्रिइरहेका दुवै समूहका कार्यक्रमहरूमा गाली अभिन्न बन्न पुगेको छ ।

आन्दोलनको अगुवाइ गरिरहेकाहरूले आक्रोशको सहारा लिनु स्वाभाविकै मान्न सकिएला । तर, सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्रीबाटै अमर्यादित शब्द प्रयोग हुनु आश्चर्यको विषय भएको राजनीतिक विश्लेषक बताउँछन् ।

माघ २३ गते नारायणहिटी पटाङ्गिनीमा आयोजित सभामा प्रधानमन्त्री ओली प्रचण्ड–माधव नेपालमाथि खासै खनिएनन् । त्यसअघिका सभामा भने प्रधानमन्त्री ओलीले हिजोका सहधर्मी, नेता–कार्यकर्तालाई मात्रै नभएर पत्रकार, नागरिक समाज सबैलाई दुर्वचन लगाएका छन् ।

ओली स्वयम् भाषा, समाज संस्कृतिका विषयमा घण्टौं प्रवचन दिन्छन् । उनका अधिकांश भाषण अरूलाई ‘सिकाउने’ किसिमका हुन्छन् । आफैँ भने सभामा असभ्य ढङ्गले प्रस्तुत हुन्छन् । र, अरूलाई चिढ्याउँछन् ।

सहिद भएको भए श्रद्धाञ्जली दिन्थेँ

प्रधानमन्त्री ओली गत पुस १९ गते आफू निकट अनेरास्ववियुको कार्यक्रममा प्रचण्ड–नेपालमाथि आक्रोश पोख्ने क्रममा तल्तै स्तरमा उत्रिए । सो कार्यक्रममा ओलीले केही अघिसम्मका सहयात्रीहरूलाई सहिद भएको भए हुन्थ्योसमेत भन्न भ्याए ।

“बरु तपाईं सहिद भएको भए, सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईंहरू सहिद त होइन । अब तपाईंहरूलाई स्मरण गर्नुपर्ने पनि आवश्यक छैन । खाली तपाईंहरूले धूलो उढाउनुहुन्छ । पानी छम्कने मात्रै हो,” ओलीले भनेका थिए ।

संसद विघटन असंवैधानिक भन्नेहरू देशविरोधी 

संसद विघटनको विषयमा सर्वोच्च अदालतमा बहस जारी छ । संसद् विघटनको समर्थन र विरोध गर्ने दुवै पक्ष सडकमा नै छन् ।  तर, प्रधानमन्त्री ओलीले गत माघ ११ गते संसद विघटन असंवैधानिक भएको भन्नेहरूलाई देश विरोधीको बिल्ला भिराउनसम्म पछि परेनन् ।  

“संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, ती कराउनेहरू लोकतन्त्र विरोधी हुन् । जनविरोधी हुन्, ती,” अपांग महासंघको कार्यक्रममा ओलीले भनेका थिए ।

त्यही भाषणको दौरानमा ओलीले वैशाख १७ र २७ गते तय भएको निर्वाचन देशको अहितमा निरन्तर काम गर्ने ‘देशद्रोही’ लाई ठेगान लगाउने अवसर हुनेसमेत जिकिर गरे । ओलीले आफैंलाई ज्यान मुद्दाबाट बचाएका नेपालकै जेठो कानून व्यवसायी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिलको तमासा’ भनेर अदालतको अपमान गरे ।  

मानवअधिकारकर्मीलाई मण्डलाकर्मीको संज्ञा

ओली मानवअधिकारकर्मीमाथि पनि असहिष्णु छन् । प्रधानमन्त्रीको कदम संविधान नै मास्न उद्यत रहेको भन्दै मानवअधिकारकर्मी अविच्छिन्नरूपमा आन्दोलित हुँदै आएका छन् । आफ्नो समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले मानवअधिकारकर्मीलाई मण्डलाकर्मीको संज्ञा दिएका थिए ।

“मानव अधिकारकर्मी भएर युवा अवस्थादेखी कर्मी भएका दाह्री–जुँगा फुलिसक्यो, तालु खुइलिसक्यो,  चाउरीसक्यो, दाँत झरिसक्यो कर्मी छँदैछन्,” ओलीले भनेका थिए “तर, तीनले त्यस्ता मान्छे एउटा पनि भेट्दैनन् । एउटा पनि देख्दैनन् । मण्डलामा गएर कराउँछन् । मानवअधिकारकर्मी भन्ने मण्डलाकर्मी हुने ।”

उनले सडकमा बेसहारा भएर लडेका, खान नपाएका नागरिकहरूको वकालत नगरेको र सरकारले त्यस्ता नागरिकलाई गरेको व्यवस्थापन पनि नदेखेकाप्रति उनको आक्रोश थियो । राजनीतिक विश्लेषक कृष्ण खनाल प्रधानमन्त्री ओलीमा वाकपटुता नभएको निचोडमा पुगेका छन् । उनले बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा ओलीलाई ‘मुखाले’को संज्ञा दिए ।
 
“प्रधानमन्त्रीले अरूलाई मुखाले भनिरहनुभएको छ । सबैभन्दा मुखाले आफैं भइरहनुभएको छ । यसलाई वाकपटुता भनिदैन, मुखाले नै भनिन्छ,” खनालले बाह्रखरीसँग भने ।  प्रायः कार्यक्रममा प्रधानमन्त्री ओलीले पत्रकारिताको पाठ पढाउन पनि बिर्सिदैनन् । उनले समाचारीय भाषामा समान सम्बोधन गरेको भन्दै आक्रोश पोख्ने गरेका छन् । तर, प्रधानमन्त्रीले भाषा सिकाउन आवश्यक नरहेको र उनले सिकाएर कसैले नसिक्ने विश्लेषक खनालको भनाइ छ । 

“प्रधानमन्त्रीको स्तर देख्दा नै दया लागेर आउँछ । प्रधानमन्त्रीको स्तर देख्दा नै दया लाग्छ १ यस्तो खालको प्रधानमन्त्री पहिले कहिले पनि देखिएको थिएन्,” खनालले टिप्पणी गर्छन्, “त्यस्ता प्रधानमन्त्रीले गरेका कुरा ठिक होइन भनेर के टिप्पणी गर्नु रु”

त्यस्तै लेखक तथा राजनीतिक विश्लेषक नारायण ढकाल ओलीको बोलीमा पञ्चहरूको शैली ढल्कने टिप्पणी गर्छन् ।

“उहाँमा आफू राजा भएको भ्रम छ । तर, जनताले किन राजा बनाउथे र रु उहाँको व्यक्तित्व, बोल्ने तरिका, विपक्षी, सञ्चारमाध्यम, बुद्धिजीवीलाई भनेको हेर्दा महापञ्चको जस्तै छ । उहाँमा नैतिकता, लोकतन्त्रवादी समाजवादी छवि देखिँदैन्,” लेखक तथा विश्लेषक ढकाल भन्छन् । (बाह्रखरीबाट)
 

प्रतिक्रिया दिनुहोस