मुखिया र पाण्डेलाई बराथा सम्मान

रासस

आइतबार, २५ माघ २०७७, १५ : ०९
मुखिया र पाण्डेलाई बराथा सम्मान

काठमाडौं । नेपाली व्यङ्ग्य चित्र क्षेत्रमा महत्वपूर्ण योगदान दिएका अग्रज कलाकार टेकवीर मुखिया र प्रा रामकुमार पाँडे सम्मानित भएका छन्  । साधारणसभाको अवसर पारेर नेपाल कार्टुनिस्ट क्लबले हरेक वर्ष प्रदान गर्दै आएको ‘बराथा स्मृति सम्मान’ २०७५ र २०७६ क्रमशः मुखिया र पाण्डेलाई दिइएको हो । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाली कार्टुनलाई आजको अवस्थासम्म ल्याई पु¥याउन मुखिया र पाँडेले विशिष्ट योगदान दिएको बताए । उनले कार्टुन कला समाजलाई जनचेतना जगाउने महत्वपूर्ण विधा रहेको जिकिर गर्दै यसको विकास, प्रवद्र्धन तथा संवद्र्धनका काममा प्रतिष्ठानले सक्दो सहयोग गर्ने विचार व्यक्त गरे । 

कुलपति कर्माचार्यले संसारमै कार्टुन कलाको महत्व झनै बढेर गएको बताउँदै भने, “पछिल्लो समय समाजलाई जागरुक बनाउन पनि यसको भूमिका अझै बढेर गएको छ ।” उनले  नेपालमा अहिले पत्रपत्रिकाले कार्टुनलाई विशेष स्थान दिएको बताए । उनले भने , “पत्रिकाको मात्रै भर नपरी प्रतियोगिता, कार्यशाला, प्रदर्शनी, गोष्ठीलगायतका काम गर्नुपर्दछ । यसका लागि प्रतिष्ठानले आवश्यक सहयोग गर्न तयार छ । साथै यस विधालाई विकेन्द्रिकरण गर्दै प्रादेशिक तथा जिल्ला स्तरसम्म पु¥याउन पहल गरौँ ।” 

प्राज्ञ रमेश खनालले कार्टुन समाज चिहाउने आँखा भएको बताए । उनले नेपालमा कार्टुनले राजनीतिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गरे । उनले भने , “आममानिस र समाजलाई आँखा देखाउने कलाका रुपमा कार्टुन कलालाई लिन सकिन्छ । यसको प्रभावकारी विस्तार सिर्जनशीलताले नै समाजलाई समृद्ध बनाउन मद्दत मिल्दछ ।” 

कलाकार जीवन राजोपाध्यायले कार्टुनको शक्तिले समाजलाई झक्झकाउने जिकिर गर्दै यसको विस्तारमा प्रतिष्ठान र क्लबले अझै काम गर्न बाँकी रहेको बताए । कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले कार्टुनको विकासका लागि अझै प्रभावकारी काम गर्नुपर्ने विचार व्यक्त गरे । उनले कला र पत्रकारितालाई जोड्ने महत्वपूर्ण सेतुका रुपमा कार्टुन कलाले काम गरिरहेको बताउँदै आमसञ्चार माध्यमले यसलाई अझै सशक्त ढङ्गले अगाडि बढाउन पहल गर्नुपर्ने जिकिर गरे । 

  

प्रतिक्रिया दिनुहोस