बलात्कारपछि विभत्स हत्या

पाउलिन् त भागरथीले न्याय ? भोग्न नपरोस् निर्मलाकै नियति !

सफल खबर संवाददाता

आइतबार, २५ माघ २०७७, ०९ : ४२
पाउलिन् त भागरथीले न्याय ? भोग्न नपरोस् निर्मलाकै नियति !

बैतडी । २०७५ साउन साउन १० गते साथीको घरमा पढ्न गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरियो । भोलिपल्ट उनको शव उखु बारीमा भेटियो । आजसम्म पनि निर्मलाका हत्यारालाई नेपालको प्रहरी प्रशासनले फेला पार्न सकेको छैन । आज पनि पीडामा मुर्छित छन् निर्मलाका परिवार । 

निर्मलाकै जस्तो नियति पश्चिम नेपालमै फेरि दोहोरियो । बैतडी दोगडाकेदार–७ चडेपानीकी १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । स्कुल पढेर घर फर्केकी भागरथी विभत्स शव फेला पर्दा कुन नेपालीको मन नकुँडिएको होला । सिंगो बैतडी जिल्लामात्र होइन, देश नै रोएका छ । सारा नेपालीले कामना गरिरहेका छन् – निर्मलाकै नियति भागरथीले भोग्न नपरोस् । उसको हत्यारा चाँडै फेला परोस् । कानुनी राजमा कानुनको शासन चलोस् । हत्यारालाई हदैसम्मको कारबाही होस् । 

यसरी भयो भागरथीको हत्या

बैतडीको दोगडाकेदार ७ चडेपानीकी ह्न  भागरथी । उनी १७ वर्षमा टेकेकी मात्र थिइन् । उनी सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढ्थिन् । पढाइमा सिपालु थिइन् । मिलनसार र मेहनती थिइन् । उनको घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्ने अवस्था थियो । यद्यपि स्कुल जाँदा आउँदा उनी साथीहरुसँगै जान्थिन् र आउँदा पनि साथीहरु मिलेर नै आउने गर्थे ।

बैतडी प्रहरीका अनुसार घटना भएको दिन बुधबार हो । २ बजे नै पढाइ सकियो । स्कुलबाट विद्यार्थीहरु झोला च्यापेर निस्के । कक्षा १२ मा उनीसँग पढ्ने साथीहरुले उनलाई भने– भागरथी कपाल काटेर घर जाऔँ, आज छिटो बिदा भएको छ, भ्याइन्छ ।’ भागरथीले भनिन्, ‘घरमा आमामात्रै हुनुहुन्छ, म त छिटो जानुपर्छ, घरमा धेरै काम पनि छ, नभुलौँ, पछि काटौँला नि कपाल ।’ भागरथीले त्यसो भनेपछि साथीहरुले भने, ‘तिमी हिँड्दै गर, हामी यसो कपाल काटेर मिलाएर आउँछौँ ।’ भागरथीले भनिन्, ‘छिटो आऊ है, म विस्तारै जाँदै गर्छु ।’ 

त्यसो भनेर हिँडेकी भागरथी घर पुगिनन् । जंगलको बाटो एक्लै हिँड्न थालिन् । अघिपछि पनि भागरथी त्यो बोटा बेलाबेला एक्लै हिँडेकी थिइन् । सबै साथीहरु घर पुग्दा पनि साँझ अबेरसम्म भागरथी घर नपुगेपछि गाउँमा खैलाबैला हुन थाल्यो । परिवार खोजीमा लाग्न थाल्यो । आमा द्रोपतीले हारगुहार गरिन्, खोजीमा जुटिन् । तर, भागरथीको अत्तोपत्तो भएन । रातभर खोजी गर्दा पनि पत्तो लागेन । 

भोलिपल्ट बिहीबार स्कुलबाट फर्किएकाहरुले लबलेक सामुदायिक वनमा बनमारा झाडी माडिएको देखे ।  आशंका गरेर गाउँ नजिकै रहेको प्रहरी चौकीमा खबर भयो । प्रहरीहरु पनि पुगे । झाडी माडिएको नजिकै भागरथीको शव भेटियो ।

बलात्कारपछि हत्या

बुधबार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव बिहीबार बीभत्स अवस्थामा फेला परेको थियो । परिवार र आफन्त उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेका छन् । प्रहरी पनि बलात्कारपछि हत्या भएको पुष्टि गरेको छ । शरीरभरि घाउ छन्, कपडा च्यातिएका छन् । जंगलमा रहेका बुट्यानहरु माडिएका छन् । हातले माटो तानिएको देखिन्छ । शव अर्धनग्न अवस्थामा छ। शरीरका भित्री कपडामा रगतैरगत छ ।  किशोरीको योनी र मुखबाट धेरै मात्रामा रगत बगेको देखिन्छ । विभत्स किसिमको शवले सबैलाई मर्माहत बनाएको छ । तर हत्याराको नजिक प्रहरी अझै पुग्न सकेको छैन । त्यसैले त सबैले भनिरहेका छन्, ‘निर्मलाले आजसम्म न्याय पाएकी छैनन्, भागरथीको पनि त्यस्तो नियति नहोस् ।’

अपराधीलाई छिटो पक्राउ गर : परिवार

नेपालमा जुनकुनै आपराधिक घटनामा  राजनीतिक चलखेल हुने गरेको छ । आफ्नो कार्यकर्ताको अपराधिक कर्तुत लुकाउन राजनीतिक दलहरु लागेको इतिहास पनि यहाँ छ, त्यसैले राजनीतिक चलखेल पनि हुने आशंका गर्दै परिवारजनले अपराधीलाई जतिसक्दो छिटो पक्राउ गर्न माग गरेका छन् । ‘हत्यारालाई छिटो पत्ता लगाएर कडा कारबाही गर्नुपर्छ,’ भागरथीकी आमा दुरा भट्टले भनिन् ।

भागरथीका काका शंकर भट्टले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएको घटना सम्झँदै भने, ‘निर्मलाको जस्तो नियति नहोस्, मेरो भतिजीको हत्यारालाई पक्राउ गरियोस् । भागरथीलाई न्याय दिलाउन गाउँलेलाई राखेर संघर्ष समिति गठन भइसकेको छ । 
जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी प्रहरी टोलीसहित घटनास्थल पुगेर अपराधीलाई छिटोभन्दा छिटो पक्राउ गरिने बताएका छन्, तर निर्मलाको नियतिका कारण परिवारजन आशावादी हुन सकिरहेका छैनन् ।

शव उठाउने दिन जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशी, सरकारी वकिल भानदेव जोशीलगायतको टोली शवको प्रकृति बुझ्न खटिएको थियो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलगायत जिल्लाका सुरक्षा निकाय प्रमुख र दोगडाकेदार घर भएका प्रदेश सांसद लीलाधर भट्ट पनि शुक्रबार दिनभर घटनास्थलमा थिए । 

भागरथीको आमा होस्मा छैनन्

घरमा भागरथीको आमा र छोरीमात्रै बस्थे । भएको एउटा छोरो रोजगारीको सिलसिलामा भारत गएका थिए । दुई महिनाअघि मात्र भागरथीले बुबा र दुराले आफ्नो पति गुमाएकी थिइन् । रोएरै रातदिन बिताइरहेकी दुरालाई फेरि अर्को ब्रजपात परेको छ । ‘अब त म बाँच्न सक्दिनँ कि जस्तो लाग्न थालेको छ, दुई महिनाअघि पति गए, अहिले अपराधीले छोरी मारेँ,’ उनले भनिन्, ‘छोरीलाई यसरी दुःख दिएर हत्या गर्नेलाई छिटो पक्राउ गरेर कडा कारबाही गरियोस् । 

सामूहिक बलात्कार

कतै चिच्चाइन होला भागरथी, कुनै सीमा छैन । जंगलका झाडीहरुमा कतिपटक लतारे, मडारिएको ठाउँ हेर्दा प्रष्ट देखिन्छ । प्रतिकार गर्दागर्दै अपराधीले भागरथीको अस्मिता लुटेनन् मात्र, हत्या गरेर फालेर फरार भए । 
‘किशोरीले प्रतिकार गरेर पनि असफल भएको देखिन्छ । दुई वा दुई जनाभन्दा बढीको समूहले उनको बलात्कार र हत्या गरेको हुन सक्छ,’ एक प्रहरी अधिकारीले भने । उनका अनुसार शव भेटिएकै स्थान बनमाराको झाडीमा बलात्कार र हत्या भएको उनले आशंका गरे । घटनास्थल स्थानीय खोचलेक चडेपानी ग्रामीण सडकबाट एक सय मिटर तल पर्छ । प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको छैन ।  आइतबार बिहानसम्म पूरा रिपोर्ट आउने अस्पताल प्रमुख डा वसन्तराज जोशीले बताए । 

प्रतिक्रिया दिनुहोस