प्रतिनिधि सभा विघटनको बिरोधमा नागरिक समुहले गर्यो शुक्रबार पनि प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, २३ माघ २०७७, १३ : ४३
प्रतिनिधि सभा विघटनको बिरोधमा नागरिक समुहले गर्यो शुक्रबार पनि प्रदर्शन

काठमाडौं । प्रतिनिधि सभा विघटनको बिरोधमा नागरिक समुहले शुक्रबार पनि प्रदर्शन गरेको छ । शुक्रबार प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनले लैनचौरदेखि शीतलनिवाससम्म प्रदर्शन गरेको हो ।

बृहत नागरिक आन्दोलनलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक श्याम श्रेष्ठले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई सदर गरिए आगामी कुनै संसदले पनि पाँच वर्षको आयु देख्न नपाउने बताए । सबै संसद गुलेलीको सिकार हुने उनकोे भनाई छ । संविधानलाई कार्यकारीले ब्याख्या गर्ने र कार्यकारीको मातहतमा न्यायपालिका हुने उल्टो दिशामा देश जान लागेको उनले बताए । हुकुमी शासनलाई जरैबाट खतम पार्न नागरिकहरु सडकमा आएको श्रेष्ठले बताए ।

राजनीतिक बिश्लेषक कृष्ण खनालले न्यायालय संविधान उल्लंघनको साक्षी बसिरहेको बताए । कानुनको डिग्री बोकेर कालो कोट लगाउनेले मात्रै रक्षा गर्ने नभई नागरिकले पनि संविधानको रक्षा गर्ने उनको भनाई छ । नागरिकहरु सडकमा नउभिउञ्जेल संविधान नजोगिने उनले बताए ।प्रतिनिधि सभा विघटन तथा संवैधानिक आयोगमा गरिएको नियुक्तिको बिरोधमा प्लेकार्ड प्रदर्शन भएका थिए भने नाराबाजी समेत भएको थियो । लैनचौरबाट शुरु भएको प्रदर्शनलाई राष्ट्रपति भवन पुग्न नदिइएपछि पानीपोखरीमा कोण सभा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस