प्रतिनिधिसभा विघटन : सरकारी पक्षको बहस आजबाट सुरु हुँदै

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, ०९ : ५८
प्रतिनिधिसभा विघटन : सरकारी पक्षको बहस आजबाट सुरु हुँदै

काठमाडौं । प्रतिनिधसभा विघटन विरुद्ध परेका रिटको बहसमा आजबाट सरकारी पक्षको बहस सुरु हुँदै छ । रिट निवेदक पक्षको बहस सकिएपछि आजबाट सरकार पक्षको बहस सुरु हुन लागेको हो ।

संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले बहस गर्नेछ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षाका लागि बहस गर्न निजी कानुन व्यवसायीले पनि नाम लेखाएका छन् । सभामुखको तर्फबाट पनि निजी कानुन व्यवसायीले बहस गर्नेछन् ।

गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए । रिटहरुमा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास गठन गरेका थिए । संसद विघटन संवैधानिक वा असंवैधानिक भन्ने विषयमा केन्द्रित भएर माघ ४ गतेदेखि बहस सुरु भएको थियो । 

प्रतिक्रिया दिनुहोस