रसुवागढी नाकाबाट एक वर्षदेखि निर्यात ठप्प

पत्रपत्रिकाबाट

मंगलबार, १३ माघ २०७७, ०८ : ०२
रसुवागढी नाकाबाट एक वर्षदेखि निर्यात ठप्प

रसुवा । रसुवागढी नाकाबाट चीनतर्फ हुने निर्यात एक वर्षदेखि ठप्प छ । आयात पनि न्यून मात्रामा भइरहेको छ । नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको एक वर्ष पूरा भयो । अहिले नाकाबाट दैनिक चाइनिज ५ कन्टेनर मात्र सामान आयात भइरहेको छ ।

गत वर्षको माघ १५ देखि आयात प्रभावित भएको हो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण बन्द भएको आयात कोभिड–१९ देखा परेपछि ठप्पप्रायः भयो । पटक–पटक आयात ठप्प हुँदा सयौं व्यवसायीका अर्बौं मूल्य बराबरका सामान चीनतर्फ रोकिएका छन् । केरुङभन्दा माथि खासा, न्यालम धिङग्री, सिगात्सेलगायत ठाउँमा गोदाममै सामान थन्किएको व्यापारी धर्म पौडेलले बताए । एक वर्षदेखि करिब २ सयभन्दा बढी नेपालीका खाली कन्टेनर केरुङमा नै रोकिएका छन् ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले व्यापारीका रोकिएका सामान ल्याउन चिनियाँ भन्सार प्रशासनसँग पहल गरिरहेको जनाए । नाका प्रभावित भएपछि सामान आयात पनि घटेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा यस नाका हुँदै ३ अर्ब ७३ करोड ४ लाख ८६ हजार मूल्य बराबरको सामान आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ४१ करोड ७४ लाख ३६ हजार रुपैयाँको आयात भएको रसुवा भन्सार कार्यालयको तथ्यांक छ । आयात घटेसँगै राजस्व संकलन पनि घटेको भन्सार कार्यालयले बताएको छ । अहिले धेरैजसो राजस्व तिर्न नपर्ने खालका सामान आयात भइरहेको छ ।

कार्यालयले चालु आवको पहिलो चौमासिकमा १ अर्ब ४ करोड ५८ लाख ७१ हजार मात्र राजस्व संकलन गरेको छ । जबकि २ अर्ब ९३ करोड ४ लाख ५२ हजार राजस्व उठाउने लक्ष्य राखेको थियो । भन्सार विभागले चालु आवका लागि रसुवा भन्सार कार्यालयलाई ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस