गण्डकी प्रदेशमा पुग्यो कोभिसिल्ड खोप

रासस

सोमबार, १२ माघ २०७७, ११ : ०९
गण्डकी प्रदेशमा पुग्यो कोभिसिल्ड खोप

कास्की ।  गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप पुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो । 

सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । पोखरा ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘कोल्ड स्टोर’मा राखिएको छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा जिल्लास्थित सरकारी अस्पतालमा खोप लगाइने निर्देशनालयले जनाएको छ । 

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइने छ । खोपका लागि जिल्लामा १० जना प्रशिक्षकलाई तालीम दिइएको निर्देशक शर्माले बताए । 

उनले भने प्रदेशमा सङ्क्रमणको दर कम भएको छ तर जोखिम कम भएको छैन, जोखिमका हिसाबले सबै नागरिकले दूरी कायम गर्ने र सरसफाइमा ध्यान दिनुर्दछ । खोप आयो भनेर जोखिम कम भयो भनेर सोच्नु हुँदैन अझै चनाखो हुुनुपर्दछ ।” 

प्रतिक्रिया दिनुहोस