ओलीले अराजनीतिक चरित्र देखाई जनमतको अपमान गरे :  प्रकाशमान सिंह

सफल खबर संवाददाता

शनिबार, ०३ माघ २०७७, १६ : ४९
ओलीले अराजनीतिक चरित्र देखाई जनमतको अपमान गरे :  प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति र प्रधानमन्त्री संविधानको मर्म र भावना अनुरुप नचलेको बताएका छन् । सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध काठमाडौँमा आयोजित एक विरोध सभामा सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारी संविधानको मर्म र भावना अनुरुप नचलेको बताएका हुन् ।

नेपालको परिवेश अनुकुल स्थिरता र स्थायित्व दिनको निम्ति बुहमतप्राप्त सरकारले प्रतिनिधि सभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको भएपनि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधानको मर्म अनुरुप नचलेको बताए ।

संविधानको रक्षक तथा पालना गर्ने संस्थाको रुपमा राष्ट्रपति रहेपनि संविधानको बर्खिलाप आएको प्रतिनिधि सभा विघटनको प्रस्ताव हेर्दै नहेरी अनुमोदन गरेकाले राष्ट्रपति पनि संविधान अनुरुप नचलेको उनकोे भनाई छ ।

संघीयता, लोकतन्त्र तथा गणतन्त्रलाई संस्थागत गर्नको निम्ति प्रधानमन्त्री ओली नेतृत्वको नेकपालाई जनताले दुईतिहाईको हाराहारीमा मत दिएको भएपनि ओलीले अराजनीतिक चरित्र देखाई जनमतको अपमान गरेको नेता सिंहले बताए । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्द देशको ७ सय ५३ वटै पालिकाहरुमा शनिबार विरोध ¥याली तथा सभाको आयोजना गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस