शहरीकरणसँगै हाम्रा नदीहरु प्रदूषित, जलपक्षीमा गम्भीर असर

सफल खबर संवाददाता

मंगलबार, २८ पुस २०७७, १६ : ५२
शहरीकरणसँगै हाम्रा नदीहरु प्रदूषित, जलपक्षीमा गम्भीर असर

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा नारायणी र राप्ती नदीमा जलपछी गणना शुरु गरिएको छ ।

Yeti Diistillery Tansen Cement box

विश्वभर जनवरी ५ देखि जलपछी गणना गरिने भए पनि चितवन निकुञ्जमा भने विशेष कारणले १० जनवरीबाट गणना शुरु गरिएको हो । बर्ड एजुकेशन सोसाइटीको अगुवाइमा भएको चरा गणनामा चितवनको भण्डारादेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीसम्मका विभिन्न सिमसारहरुमा जलपछी गणना गरिँदैछ । बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले विभिन्न नौजना चरा विज्ञलाई टोली नेताका रुपमा चयन गरेर ५० भन्दा बढी गणकहरु चरा गणनामा सहभागी भएको बताए ।

विश्वव्यापीरुपमा गरिएको चरा गणनाको नेतृत्व ‘वेटल्यान्ड इन्टरनेशन’ले गर्ने भन्दै चौधरीले २७ देशका ६ हजार १०० स्थानमा एकैसाथ जलपछी गणना भइरहेको जानकारी दिए। विश्वमा पाइने १७५ प्रजातिका जलपछीमध्ये नेपालका सिमसार क्षेत्रमा १६० प्रजाति गणना गरिएको अध्यक्ष चौधरीले बताए । “जलपछीको विभिन्न १२ वटा प्रजाति सङ्कटापन्नको सूचीमा परेका छन्”, उनले भने, “नेपालमा सारससहित तीनवटा प्रजाति संरक्षणको सूचीमा छन् ।” जलकौवा, चखेवालगायत हाँस प्रजातिहरु नारायणी र राप्ती नदीमा बढी मात्रामा भेटिने गरेको भए पनि यस वर्ष यिनीहरुको सङ्ख्यामा समेत कमी आएको उनको भनाइ छ ।

Upakar

बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं चराविज्ञ वासु विडारीले नदीका जलाधार क्षेत्रहरुमा प्रदूषण बढ्दै जाँदा जलपछीको सङ्ख्यामा कमी आएको बताए । “शहरीकरणसँगै हाम्रा नदीहरु प्रदूषित बन्दै गइरहेका छन्”, उनले भने, “जसको प्रत्यक्ष असर जलपछीहरुमा परेको छ ।” नदीहरुमा बढ्दै गएको प्रदूषण न्यूनीकरण गर्न नसकेको अवस्थामा नेपालबाटै जलपछीहरु लोप हुने खतरा बढ्दै गएको भन्दै विडारीले बेलैमा सचेत हुनुपर्ने बताए । चितवन राष्ट्रिय निकुञ्ज र यसको सिमसार क्षेत्रमा गणना भएका चराहरुको तथ्याङ्कलाई यस वर्षदेखि स्थानीयरुपमा समेत सार्वजनिक गर्ने गरी काम भइरहेको चराविज्ञ टीका गिरीले बताए।

अघिल्लो वर्षहरुमा हुने गणनाको रिपोर्ट एकमुष्ट निस्कने गरेको भए पनि यस वर्षदेखि चितवन र यस वरपरको क्षेत्रको तथ्याङ्क बर्ड एजुकेशन सोसाइटीले समेत सार्वजनिक गर्ने उनको भनाइ छ । नारायणी र निकुञ्ज क्षेत्रमा पाइएका चराहरु, यिनीहरुको बासस्थानको अवस्था, संरक्षणका प्रयासबारे सरोकार पक्षसँग अन्तरक्रिया गर्दै संरक्षणमा सबैको साथ लिएर अगाडि बढ्ने तयारी भइरहेको चराविज्ञ गिरीले बताए ।

निकुञ्जले बनाउने घाँसेमैदान एकै प्रकृतिको भएको, चरा विज्ञहरुसँग कुनै पनि छलफल नगरी निर्माण गरिँदा जलमा आश्रित पछीहरुको बासस्थानमा समस्या हुँदा सङ्ख्या घटेको उनको भनाइ छ । आइतबार र सोमबार गरिएको जलपक्षीगणनामा चखेवा, जलकौवा, गडवाल, कुट, किङफिसर, बकुल्ला, गरुड, भुँडीफोर गरुड, कालो गरुड, स्युइरो ठुँडे हाँस आदि प्रजाति भेटिएको चराविज्ञ गिरीले बताए । विश्वव्यापीरुपमा गरिने गणनानुसार आउने तथ्याङ्कले जलपक्षीको संरक्षणका लागि रणनीति तयार गर्न सहयोग पुग्ने उनको विश्वास छ । रासस