चर्चित कुटनीतिज्ञ बर्नसलाई वाइडेनले केन्द्रीय गुप्तचर प्रमुख बनाउने

एजेन्सी

सोमबार, २७ पुस २०७७, २१ : ०८
चर्चित कुटनीतिज्ञ बर्नसलाई वाइडेनले केन्द्रीय गुप्तचर प्रमुख बनाउने

काठमाडौँ । अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो वाइडेनले चर्चित कुटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने हुनुभएको छ । केन्द्रीय गुप्तचर निकाय (सिआइए)को निर्देशकको रूपमा उहाँलाई नियुक्त गर्ने निर्णय भएको वाइडेनले सोमबार घोषणा गर्नु भएको हो ।

सरकारी कर्मचारीकारूपमा झण्डै ३३ बर्ष सेवा गर्नु भएका बर्नस अहिले ६४ बर्षको हुनुभएको छ । उहाँ यसअघि रूस र जोर्डनका लागि राजदूतसमेत हुनुभएको थियो ।

उहाँले डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीबाट निर्वाचित राष्ट्रपतिको मातहतमा रहेर काम गरिसक्नुभएको छ ।उहाँलाई अमेरिकी सरकारी सेवा र कुटनीतिक क्षेत्रमा राम्रो छवि भएको र प्रभावकारी क्षमता भएको व्यक्तिका रुपमा चिनिन्छ । 

उहाँ गत सन् २०१७ देखि एक बर्ष अगाडिसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पनि कार्यरत हुनुहुन्थ्यो । तर ट्रम्पको कुटनीतिक भूमिका अत्यन्त आलोचित भएपछि बर्नसले छोड्नुभएको थियो ।

“दशकौँको कार्य अनुभव र दक्षताका आधारमा विलियम बर्नस अहिले अनुकरणीय कुटनीतिज्ञ हुनुभएको छ, रक्षा र सुरक्षाको क्षेत्रमा पनि उहाँको विश्वस्तरीय ज्ञान र क्षमता छ,” बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ । 

उहाँलाई आगामी कार्यकालमा गुप्तचर निकाय प्रमुखको रुपमा जिम्मेवारी दिँदा राष्ट्रलाई फाइदा हुने र अमेरिकामा बस्नेहरु ढुक्कसँग निदाउन पाउने बाइडेनको भनाइ छ ।

उहाँले राम्रो काम गरेको व्यक्तिको रूपमा अति उच्चस्तरका विभिन्न सम्मानहरु पनि प्राप्त गर्नुभएको छ । बर्नसले अस्फोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्वन्धमा विद्यावारिधि पनि हासिल गर्नुभएको छ ।      

प्रतिक्रिया दिनुहोस